समाचार

प्रचण्ड पक्ष बैठक राख्ने तयारीमा, ओलीले आफू निकट नेतासँग थाले छलफल

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पार्टीका आफू निकट नेताहरुसँग छलफल थालेका छन् ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजका लागि बोलाएको सचिवालय बैठकमा उपस्थित नहुने घोषणा गरेका प्रधानमन्त्रीले आगामी कदम कसरी चाल्ने भन्ने विषयमा छलफल गर्न निकट नेताहरुलाई बालुवाटार बोलाएका हुन् । केही नेतालाई बालुवाटार बोलाएर तथा केही नेतासँग टेलिफोनमै छलफल गरिरहेको बालवाटार स्रोतले बतायो।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले सचिवालय बैठकमा उपस्थिति नजनाए पनि प्रचण्ड पक्षले बैठक राख्ने भएको छ । त्यसका लागि माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ मात्रै होइन, ईश्वर पोखरेल, रामबहादुर थापा बादलले पनि साथ दिने भएका छन् ।

नेकपाको मंगलबार बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डसँग ओलीको ‘भनाभन’ नै भएको थियो । नेकपाको सचिवालय बैठक बुधबार दिउँसो १ बजे बस्दैछ।

नेकपामा पछिल्लो समय चर्किएको शक्ति संघर्ष दुई अध्यक्षबीच बैठकमा बाहेक बोली बाराबारको अवस्थामा छ। दुवैजना लिखित रुपमै आरोप प्रत्यारोपमा उत्रिएका छन् । अब मौखिक रुपमै विवाद गर्न थालेका छन् । एकले अर्कोलाई पार्टी विभाजन गर्न खोजेको लिखित आरोप लगाएपछि परिस्थिति थप गम्भीर बनेको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *