समाचार

पूर्व सांसद हरि वैरागी दाहाल स्मृति ग्रन्थ सार्वजनिक


किमाथाङ्का । जलविद्युत् अभियानकर्मी तथा सङ्खुवासभाका पूर्वसांसद हरि वैरागी दाहालका स्मृतिमा ‘अथक योद्धा हरि वैरागी दाहाल स्मृति ग्रन्थ’ आज सार्वजनिक गरिएको छ । पञ्चायतकालमै वामपन्थी राजनीति शुरु गर्नु भएका दाहाल २०५१ सालमा तत्कालीन नेकपा (एमाले)का तर्फबाट सङ्खुवासभा–२ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो ।    


ग्रन्थको नेकपाका केन्द्रीय सदस्य राजेन्द्रप्रसाद गौतम र राजेन्द्र कार्की, जिल्ला अध्यक्ष हेमराज घिमिरेलगायतले सार्वजनिक गरेका थिए। सो अवसरमा सङ्घीय सांसद गौतमले दाहालले समाज परिवर्तन र विकासका लागि पुर्याएको योगदान भुल्न नहुने बताए । नेता कार्कीले निजी क्षेत्रको लगानीमा जलविद्युत् परियोजना बनाएर उहाँले सर्वसाधारणका घरमा उज्यालो पुर्याउने काम गरेकाे बताए ।    
विसं २०१४ कात्तिक २८ गते सङ्खुवासभाको मादीमा जन्मनुभएका दाहालको २०७६ साल असोज ३ गते हृदयाघातबाट मृत्यु भएको थियो । नेता दाहालको अगुवाइमा दुई दर्जनभन्दा बढी जलविद्युत् कम्पनी स्थापना भएका थिए । दाहाल राजनीतिक परिवर्तनसँगै २०४६ सालदेखि जलविद्युत् अभियानमा लाग्नुभएको थियो । उहाँले २०५३ सालमा सङ्खुवासभाको पिलुवाखोलाबाट तीन मेगावाट क्षमताको साना जलविद्युत् आयोजना निर्माण गर्नुभएको थियो । उहाँले निजी क्षेत्रबाट जलविद्युत् आयोजना शुरुआत गरेर गाउँगाउँमा खेर गएको खोलाको पानीबाट बिजुली उत्पादन गर्ने लहर चलाउनुभएको थियोे ।    

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *