काठमाडौं । बागमती सफाइ महाअभियानको ३ सय ९४औं हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रमा अभियानकर्मी एवं अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलको नेतृत्वमा सफाइ गरियो ।
पशुपतिको आर्यघाट एवं भष्मेश्वर घाट क्षेत्रमा बढी फोहर भेटिएको उनले बताइन् । कोरोना त्रासका कारण भौतिक दूरी कायम गरेर नदी किनार नजिक निवास भएका अभियानकर्मी मात्र उपस्थित रहेकाले सबै फोहर टिप्न नसकिएको अभियानकर्मीको भनाइ छ ।
सफाइसँगै पशुपति क्षेत्रमा आएका भक्तजनलाई करिब १ सय ५० वटा गुर्जोका बिरुवा समेत वितरण गरिएको अभियानकर्मी खरेलले बताइन् । पशुपति क्षेत्रको सफाइमा अभियानकर्मी प्रमिला पौडेल, गङ्गा पुरी, सुष्मा भेटवाललगायत अभियानकर्मीको सक्रियता थियो । पशुपतिनाथको मूल मन्दिर भने चैतदेखि नै बन्द गरिएको छ । मन्दिर पुसदेखि खोल्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा अनुरोध गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
यसैगरी शङ्खमूल क्षेत्रमा अभियानकर्मी डा लक्ष्मी पौडेलको नेतृत्वमा सफाइ गरिएको छ । बागमती किनारमा पुराना जस्ता गाडिएर रहेको भेटिएकाले त्यसलाई निकालेर व्यवस्थापन गरिएको छ । अधिकार सम्पन्न बागमतीले नदी किनारमा पर्खाल लगाउने कामदारलेसमेत बोरा नदीमै फालेर फोहर गरेकाले टिप्न लगाइएको अभियानकर्मी पौडेलले जानकारी दिइन् ।
कुहिने र नकुहिने फोहर छुट्याएर व्यवस्थापन गरिएको अभियानकर्मीले जनाएका छन् । सफाइपछि बागमतीको ४ सय हप्ताको तयारीका लागि छलफल गरिएको थियो । आगामी पुस २५ गते सफाइ महाअभियानको ४ सय हप्ता विशेषरुपमा मनाउने तयारी भइरहेको छ । यस क्षेत्रको सफाइमा चक्रबहादुर चन्द, प्रिया लामिछाने, रामशरण कार्कीलगायत अभियानकर्मी सक्रिय भएका थिए ।
बागमती सफा बनाउन जेसुकै गर्न तयार
गुह्येश्वरीमाथिको बागमती सफाइ अभियानको ३ सय ५४औं हप्तामा गोठाटार पुल क्षेत्रमा सफाइ गरिएको छ । सफाइमा बागमती प्रदेशसभा सदस्य छिरिङ दोर्जे लामा, अधिकार सम्पन्न बागमतीका अध्यक्ष उद्धव तिमल्सिना, आयोजना प्रमुख नवराज प्याकुरेल, गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष नारायणबहादुृर सुवेदी, वडा नम्बर ६ का अध्यक्ष रमेश अर्याललगायतका व्यक्तित्व पनि यस क्षेत्रको सफाइमा सहभागी भएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य लामाले बागमतीको सौन्दर्यीकरणका लागि नगरपालिका र अधिकार सम्पन्न बागमतीलगायत सरोकार भएका निकायबीच सहकार्य हुनुपर्नेमा जोड दिए । अधिकार सम्पन्न बागमतीका नवनियुक्त अध्यक्ष तिमल्सिनाले बागमतीलाई फोहर हुनुअघिको पुरानैस्वरुपमा फर्काउन लागिपर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा वडा अध्यक्षद्वय सुवेदी र अर्यालले बागमती स्वच्छ बनाउन नगरपालिकाकोतर्फबाट आवश्यक सबै किसिमका सहयोग गर्न तयार रहेको जानकारी गराए । ‘मनदेखि नै मुहान क्षेत्रको बागमती सफा गरौँ’ भन्ने नाराका साथ सुरु भएको अभियानले कुहिने र नकुहिने फोहरलाई छुट्याएर व्यवस्थापन गर्दै आएको बागमती सुन्दरता सरोकार मञ्चको अध्यक्षसमेत रहेका अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिए ।
गोकर्णेश्वर नगरपालिकाको माकलबारीबाट गुह्येश्वरीसम्मको नदी क्षेत्रलाई विशेष अभियानका साथ सफा बनाउन लागिएको मञ्चले जनाएको छ । यसका लागि कोरोना महामारीकाबीच भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर अर्को हप्तादेखि नै अभियान सुरु गरिने जनाइएको छ ।
बागमतीसँगै शनिबार रुद्रमती, विष्णुमती, मनोहरालगायत सहायक नदी, चक्रपथको उत्तरी र पश्चिमी खण्डलगायत स्थानमा पनि स्वास्थ्य सुरक्षाका विधि अपनाएर सफाइ गरिएको जनाइएको छ । विसं २०७० जेठ ५ गतेदेखि तत्कालीन मुख्यसचिव लीलामणि पौडेलको विशेष सक्रियतामा बागमती सफाइ महाअभियान सुरु भएको थियो।
महाअभियान सुरु भएसँगै यसका सहायक नदी, उपत्यकाका विभिन्न स्थानलगायत मुख्यमुख्य शहरमा समेत सफाइ जागरण सुरु भएको छ । हालसम्म १ सय ६ स्थानमा सफाइ भइरहेको जनाइएको छ । नागरिकस्तरबाट सुरु भएका स्वयंसेवी अभियानका लागि पैसा नउठाउने र कुनै समितिसमेत नबनाउने नीति रहेको मुख्य अभियानकर्मी पौडेलले बताइन् ।




