सम-सामयिक

भारतीय बिरामी घटेपछि चौधरी आँखा अस्पताल आर्थिक सङ्कटमा

लहान । सिरहाको लहानस्थित सगरमाथा चौधरी आँखा अस्पताल यतिबेला आर्थिक सङ्कटमा परेको छ ।

कोरोना भाइरस संक्रमणका कारण नेपाल–भारतीय सीमा बन्द हुँदा भारतबाट आउने बिरामीको सङ्ख्या ह्वातै घटेपछि यो अस्पताल आर्थिक सङ्कटमा परेको हो ।

सो अस्पतालमा करिब ७५ प्रतिशत भारतीय र २५ प्रतिशत नेपाली नागरिक उपचारका लागि आउने गरेको थियो । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले भारतीय सीमानाका बन्द गरेपछि उपचारका लागि अस्पताल आउने भारतीय बिरामीको सङ्ख्या ह्वातै घटेको अस्पतालका प्रवन्धक अभिषेक रोशनले जानकारी दिए ।

“पहिला दैनिक एक हजार २ सय सम्म बिरामी आउने गरे पनि अहिले घटेर ३ सयमा झरेको छ” उनले भने, “भारतीय बिरामी आउन छाडेपछि अस्पतालमा आर्थिक समस्या बढ्न थालेको छ ।” अस्पतालमा बिरामी घटेपनि करिब ६ महिनासम्म अस्पतालको मौज्दात रकमबाट कर्मचारीलाई तलब खुवाए पनि अब भने समस्या भएको उनको भनाइ छ ।

“अस्पतालको मुख्य आयस्रोत आँखाका बिरामीहरुको उपचार नै हो”, उनले भने, “उपचार सेवाबाट हुने आम्दानीले ३ सयभन्दा बढी कर्मचारीलाई तलब खुवाउँदै आएका छौँ, तर बिरामी नै घटेपछि अस्पतालको आयस्रोत पनि घटेको छ, फलस्वरुप अस्पताल सञ्चालन गर्न कठिनाइ भइरहेको छ ।”

भारतीय सेवाग्राहीबाट उठेको पैसाले जिल्लाका विभिन्न स्थानमा निः शुल्क आँखा शिविर सञ्चालन गदै आएको अस्पतालले अब त्यस्तो काममा समस्या हुन सक्ने बताएको छ । अस्पतालको आर्थिक अवस्थामा सुधार ल्याउन र शिविर सञ्चालन गर्न अब बैकिल्पक उपाय अपनाउनुपर्ने देखिएको छ ।

मुलुकमा जारी बन्दाबन्दीका समयमा पनि नियमित रुपमा उपचार सेवा सञ्चालन गर्दै आएको उक्त अस्पतालले बन्दाबन्दी सुरु भएको गत चैत ११ गतेदेखि अहिलेसम्ममा २७ हजार २ सय १३ बिरामीको उपचार गरेको जनाएको छ । गत वर्षको सोहि अवधिमा अस्पतालले ७५ हजार भन्दा बढी आँखाका बिरामीलाई उपचार गरेको थियो ।

उपचारका लागि आउने बिरामीको सङ्ख्या घटेको र कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर अस्पतालले स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर सेवा सञ्चालन गरिरहेको जनाएको छ । सो आँखा अस्पतालमा प्रदेश नम्बर २ का आठ वटै जिल्ला र प्रदेश नम्बर १ का उदयपुर, सुनसरी तथा भारतीय बजारबाट बिरामीहरु उपचारका लागि आउने गरेका छन् ।

स्थापना भएको विगत ३८ वर्षभित्र अस्पतालले ५९ लाखभन्दा बढी व्यक्तिको आँखाको जाँच तथा १२ लाखभन्दा बढीको शल्यक्रिया सेवा प्रदान गरेको अस्पतालका प्रमुख सञ्जय सिंहले बताए । लहानबाहेक अस्पतालले मुलुकको विभिन्न शहरमा समेत शाखा बिस्तार गरी आँखाका बिरामीको उपचार गर्दै आएको छ ।

प्रमुख सिंहका अनुसार यो अस्पतालले लहानबाहेक सिरहा सदरमुकाम सिरहा बजार र मिर्चैया, सप्तरीको राजविराज र कञ्चनपुर, धनुषाको धनुषाधाम, महोत्तरीको बर्दिवास र जलेश्वर, सर्लाहीको मलङ्गवा, उदयपुरको गाईघाट, खोटाङ्गको दिक्तेल र हलेसी तथा सिन्धुलीको खाल्टे गरी १३ शाखामार्फत बिरामीलाई आँखाको उपचार सेवा प्रदान गर्दै आएको छ ।

यसबाहेक अस्पतालले बिभिन्न संघसंस्थाको समन्वयमा घुम्ती आँखा शिविरमार्फत समेत बिरामीको निः शुल्क उपचार तथा शल्यक्रिया सेवा दिँदै आएको प्रमुख सिंहको भनाइ छ । सरकारले गरेको बन्दाबन्दीको समयमा आर्थिक सङ्कटमा परेका ५ सय परिवारलाई राहत समेत वितरण गरेको अस्पतालले जनाएको छ ।

स्थानीय स्व. छबिलाल चौधरी, स्व. सरोबरलाल चौधरी र रबिन्द्रलाल चौधरीको सक्रियतामा सन् १९८२ मा स्थापना भएको अस्पतालले सन् १९८३ बाट नियमित आँखा उपचार सेवा सुरु गरेको हो । लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालको एउटा कोठाबाट सुरु भएको सो अस्पतालले सन् २०२१ बाट सुविधासम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालन गर्ने लक्ष्य लिएको प्रमुख सिंहले जानकारी दिए । आम नागरिकको उपचार सेवामा समर्पित यो अस्पतालको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि सरकारले पनि सहयोग गर्नुपर्ने लहान नगरपालिका–७ का शंकर चौधरीको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *