सम-सामयिक

जग्गा किन्ने बहानामा हत्या गर्ने ३ जना पक्राउ

काठमाडौं । जग्गा किन्ने बहानामा लुटपाट गरी हत्या गरेको अभियोगमा प्रहरीले मुख्य योजनाकारसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घटनाका मुख्य योजनाकार शेर्पा भनिने कामी लामा, रमेश तामाङ र प्रेम तामाङ रहेका छन् । भक्तपुरको चाँगुनारायण नगरपालिका ८, सुडालका ६१ वर्षीय चन्द्रकुमार योञ्जनको हत्यामा संलग्न उनीहरुलाई प्रहरीले बौद्ध क्षेत्रबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखाले बताएको छ ।

जग्गा हेर्न भन्दै गएका उनीहरुले गत हप्ता योञ्जनलाई कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते योञ्जनको उपचारका क्रममा मृत्यु भएको थियो ।

अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाले उनीहरुले जग्गा किन्ने बहाना बनाएर मृतक योञ्जनसँग रहेको सुन लुट्न कुटपिट गरेको बताए । कुटपिटबाट योञ्जनको पेट, छाती र अनुहारमा गम्भीर चोट देखिएको उनले बताए ।

कुटपिटपछि उनीहरु दुई तोला दुई लालको ब्रासलेट र मोबाइल लिएर फरार भएका थिए । प्रहरीले घटनास्थलमा भेटिएको हेलमेटका आधारमा अनुसन्धान गरी उनीहरुलाई पक्राउ गर्न सफल भएको हो ।

उनीहरुको साथबाट बा ९६ प ७११४ नम्बरको मोटरसाइकल, सुन बिक्रीबाट प्राप्त १ लाख ५५ हजारमध्ये ५४ हजार ६ सय रुपैयाँ नगद पनि र एक तोला दुई लाल सुन बरामद गरिएको छ ।

कर्तव्य ज्यान मुद्दा र लुटपाट अभियोगमा उनीहरुलाई भक्तपुर जिल्ला अदालत लगिने प्रहरीले बताएको छ । अपरेसनमा संलग्न प्रहरी अधिकारी र जवानहरुलाई नगदसहित सम्मान पनि गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *