सम-सामयिक

छांगरुमा सशस्त्र प्रहरीको भवन निर्माण शुरु

दार्चुला । व्यासको छांगरुस्थित गागामा सशस्त्र प्रहरीको भवन निर्माण कार्य शुरु भएको छ ।

गृहमन्त्री रामबहादुर थापाले यही असोज ९ गते भवनको शिलन्यास गरेसँगै निर्माण व्यवसायीले भवन निर्माणको कार्य शुरु गरेको हो । छांगरुमा सशस्त्र प्रहरीलाई बाह्रै महिना बस्न मिल्ने गरी भवन निर्माण शुरु गरिएको छ । गागामा सशस्त्र प्रहरीको अत्याधुनिक सुविधासहितको ४० कोठे भवनको निर्माण कार्य शुरु भएको निर्माण व्यवसायी सुरेश चन्दले बताए ।

भारतले अतिक्रमण गरेको कालापानी भन्दा झण्डै १४ किलोमिटर तल छाङरुमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मको अत्याधुनिक भवन निर्माण हुन लागेको हो । एक वर्षभित्रै निर्माण सक्ने गरी कुल रु १० करोड लागतमा भवन निर्माणको काम शुरु गरिएको निर्माण व्यवसायी चन्दले जानकारी दिए ।

उनले यो दुई महिनाको अवधीमा भुईतलामा २० कोठा निर्माण गरि सक्ने लक्ष्य रहेको जनाए । ठेकेदारले सिम्रीक हेलिकप्टरमार्फत जेनरेटरलगायत सामाग्री छांगरु पुर्‍याएको छ । ‘यसै हप्ता निर्माणमा प्रयोग हुने सामग्री ढुवानी भइसकेको छ’, चन्दले भने, ‘मौसमले साथ दियो भने मंसिरसम्म तल्लो तलामा सशस्त्र प्रहरी बस्ने मिल्ने गरी काम हुन्छ ।’

व्यासको कौवा र तिंकरमा पनि सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट राख्ने सरकारको तयारी छ । तिंकरमा सशस्त्र प्रहरीको भवन निर्माणका लागि रु एक करोड बजेट विनियोजन भइसकेको छ । अहिले निर्माण व्यवसायीले भवनका लागि जग खन्ने काम शुरु गरेको छ ।

भवन निर्माणमा ४०/४५ मजदूर परिचालन गरिएको छ । भवनको जगका लागि चाहिने ढुङ्गा सङ्कलनको काम पनि सँगसँगै भइरहेको छ । मंसिरदेखि हिमपात शुरु हुने मौसम भएका कारण निर्माण व्यवसायीले काममा तिव्रता दिने गरी तयारी थालेको छ । यो क्षेत्रमा पाँचदेखि १० फिटसम्म हिउँ जम्ने गर्छ । यहाँका स्थानीयवासी मंसिर पहिलो साता सदरमुकाम खलंगा बसाइ सर्छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *