समाचार

नमोबुद्धका विपन्नलाई तेस्रो चरणको राहत

काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिकामा विपन्न परिवारलाई राहत वितरणको तेस्रो चरणको राहत प्याकेज सुरु गरिएको छ । कोरोना भाइरस संक्रमणका कारण समस्यामा परेका ३ सय ६३ विपन्न परिवारलाई दाताको सहयोगमा नगरमार्फत राहत वितरण सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

कोरोना संक्रमण सुरु भएयता तेस्रो चरणको राहत वितरण भइरहेको नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले बताए । “कोरोना संक्रमण सुरु भएपछि नगरले आफ्नै स्रोतबाट र त्यसपछि दाताको सहयोगमा राहत प्याकेज सञ्चालन गरिरहेका छौँ”, उनले भने ।

प्रमुख शर्माका अनुसार कोरोना संक्रमणपछि पहिचान भएका ३ सय ६३ विपन्न परिवारलाई राहत वितरण गरिएको छ । तेस्रो चरणको राहत प्याकेजअन्तर्गत हाल पहिलो चरणमा नगरको १, ७, ८, ९ र १० का १ सय ३० परिवारलाई राहत वितरण गरिएको छ । उनले भने, “अब दोस्रो चरणमा बाँकी वडामा क्रमैसँगै राहत वितरण गरिनेछ ।” नगरपालिकामा ११ वडा छन् ।

राहत प्याकेजमा प्रतिपरिवार ३० किलो चामल, पाँच किलो दाल, दुई लिटर तेल र एक प्याकेट नून रहेको छ । दोस्रो र तेस्रो चरणको राहत काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित ठाङ्गु गुम्बाले सहयोग गरेको हो । गुम्बाका अध्यक्ष लामा खाम्सुङले नगरका विपन्नलाई राहत जारी राखिने बताए । “हामी राहत प्याकेजलाई निरन्तरता दिने अभियानमा छौँ”, उनले भने ।

नगरले कोरोना भाइरस संक्रमण सुरु भएपछि पहिलो चरणमा पहिचान भएका नगरका करिब २ सय विपन्न परिवारलाई राहत वितरण गरेको थियो । त्यसपपछि नगरले दाताको सहयोगमा साउनमा दोस्रो चरणको राहत प्याकेज सुरु गरेको थियो । दोस्रो चरणको राहतका बेला नगरका सबै विपन्न परिवारको पहिचान भइसकेको थियो ।

“पहिलो चरणको राहत वितरणपछि संक्रमणको जोखिम बढ्दै जाँदा दोस्रो राहतको व्यवस्थापनका लागि नगरले योजना बनाइरहेका बेला दाता आइपुग्नुभयो, संक्रमणको अवस्था रहिरहेमा राहतका थप चरणका लागि पनि प्रयासरत रहने छौँ”, नगरप्रमुख शर्माले भने । उनका अनुसार नगरमा हाल कोरोना भाइरसका तीन सक्रिय संक्रमित छन् ।

काभ्रेपलाञ्चोकमा भने गत असार २ गतेयता ६ सय १५ मा कोरोना संक्रमण देखिएको छ । जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टका अनुसार कूल संक्रमितमध्ये छ को मृत्यु भएको छ भने ४ सय ६ उपचारपछि घर फर्किएका छन् । २ सय ३ सक्रिय संक्रमितमध्ये १ सय ३१ अस्पताल आइसोलेसन र ७२ को होम आइसोलेसनमा उपचाररत छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *