काठमाडाैं। नेपालभरमा हालसम्म चारलाख १९ हजार ५३८ जना मास्क नलगाई बाहिर निस्कनेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई प्रहरीले केही बेर सडकमा उभ्याउने, मास्कको महत्वको बारेमा बुझाउने र अनिवार्य रुपमा मास्क लगाएर मात्रै घर बाहिर निस्कनको लागि सम्झाउने गरेकाे छ । त्यती हुँदा पनि अटेर गरेमा संक्रामक रोग निवारण ऐन अन्तरगत कारवाही गरेकाे छ ।
नेपालका ७७ जिल्लामा जिल्ला प्रशासन कार्यालय मार्फत मास्क प्रयोग नगरि हिड्नेलाई कारवाही गरिने प्रकृया अघि बढाएको गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए। साउन ३० गतेसम्ममा नेपालका ७७ जिल्लामा सम्म चारलाख १९ हजार ५३८ जना मास्क नलगाई बाहिर आएका मध्ये तीन लाख ५४ हजार ८२४ जनालाई मास्क लगाएर हिड्न सम्झाएर पठाएको र उनीहरुलाई ३९ हजार ५०७ थान मास्क समेत वितरण गरेको प्रवक्ता बुढाले जानकारी दिए । २५ हजार २०७ जना व्यक्तिहरु मास्क नलगाई हिडेकोमा प्रतिव्यक्ति एक सय रुपियाँको दरले २५ लाख २० हजार सात सय रुपैया राजस्व संकलन भएको प्रवक्ता बुढाले बताए ।
अत्यावश्यक काम बाहेक काठमाडौ उपत्यका भित्रने खोज्ने २७ हजार ११८ वटा सवारी साधनलाई काठमाडौ भित्रने खोज्ने नाकाबाटै फर्काइएको उनले स्पष्ट पारे । काठमाडौं उपत्यकामा कोरोनाको जोखिम बढेसँगै र सकृय संक्रमित दैनिक सयौंको संख्यामा देखिन थालेपछि काठमाडौं जिल्लामा पाँच र ललितपुर र भक्तपुर जिल्लामा चार-चार ओटा अनुगमन समितिले राजधानीका मल, भिडभाड हुने क्षेत्रमा अनुगमन गरिरहेको एक सातामा गृहमन्त्रालयमा प्रतिवेदन बुझाउने प्रवक्ता बुढाले बताए । प्रतिवेदन बुझाएपछि थप जानकारी नियमित रुपमा सार्वजनिक हुने बुढाले जानकारी दिए ।




