समाचार

नेपालको अद्यावधिक अंग्रेजी संस्करणको नक्सा स्वीकृत

काठमाडौं । नेपालको अद्यावधिक (राजनीतिक/प्रशासनिक) अंग्रेजी संस्करणको नक्सा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्वीकृत गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमकुमारी अर्यालले नापी विभागले तयार पारेको अंग्रेजी संस्करणको नेपालको नक्सा आज (शुक्रवार) स्वीकृत गरिन् । नापी विभागले तयार गरी नाप नक्सा समितिमा निर्णय गरी स्वीकृतिका लागि मन्त्रालयमा पेस गरेको उक्त नक्सा शुक्रवार मन्त्रालयबाट स्वीकृत गरिएको हो ।

विगतमा विभिन्न कारणले छुटाइएको लिम्पियाधुरा, लिपुलेक, कालापानी सहितको भूभाग समेटेर नेपालले गत जेठमा नेपालको अद्यावधिक (राजनीतिक/प्रशासनिक) नक्सा प्रकाशन गरी राजपत्रमा समेत प्रकाशित गरेको थियो । सोही नक्साको अंग्रेजी संस्करणको नक्सा नापी विभागले प्रकाशन गरेको हो ।

अंग्रेजी संस्करणको नक्सा संयुक्त राष्ट्र संघ, विभिन्न कूटनीतिक नियोग, समग्र अन्तर्राष्ट्रिय समुदायमा पठाउनका निम्ति बाटो खुलेको र परराष्ट्र मन्त्रालयमार्फत पठाइने नापी विभागका महानिर्देशक प्रकाश जोशीले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *