चनौली । चितवन समाज हङकङका आजीवन सदस्य मेनुका गुरुङकी आमा खमिनीदेवी गुरुङको मंगलबार श्रद्धाञ्जलिसभा आयोजना गरियो । चितवन समाज हङकङ र चितवन हङकङ सम्पर्क समाज नेपालले मंगलबार उहाँको निवास भरतपुर–२० चनौलीमा श्रद्धान्जली सभा आयोजना गरेको हो ।
कार्यक्रममा चितवन समाज हङकङ अध्यक्ष ओमराज गुरुङले समाजसेवी आमा कै कारण सबै सन्तान सामाजिक क्षेत्रमा अग्रसर हुनु भएको बताउनु भयो । उहाँले चितवन समाज हङकङका आजिवन सदस्य मेनुका गुरुङ पनि हरसमय हङकङका विभिन्न सामाजीक कार्य लागिरहने बताउनु हुदै समाजका लागि योगदान दिनेको समाजले मूल्यांकन गर्ने भनाई राख्नु भयो ।
चितवन हङकङ सम्पर्क समाज नेपालका सचिव विष्णु ढकालले स्व. खमिनीदेवीले समाजको सम्बृद्धिको लागि धेरै योगदान दिनुभएको बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका पूर्व अध्यक्ष महेन्द्रराज श्रेष्ठ, चितवन हङकङ सम्पर्क समाज नेपालका उपाध्यक्ष दलबहादुर गुरुङ ,सल्लाहकार सोमप्रसाद भण्डारी, स्व. खमिनी देवीका छोरी गंगा गुरुङ, मेनुका गुरुङ, चितवन समाज हङकङका शशी गुरुङ, चितवन हङकङ सम्पर्क समाज नेपालका सदस्य भीमबहादुर गुरुङलगायतको उपस्थिति थियो । विगत ४–५ वर्षदेखि मृगौलाको समस्याबाट पीडित उहाँ गत असार २० गते ७४ वर्षको उमेरमा दिवंगत हुनुभएको थियो ।

उहाँ तमुस्यो ह्युल छोज धी गुरुङ महिला राष्ट्रिय परिषद्का केन्द्रिय उपाध्यक्ष, रेडक्रस उपशाखा चनौलीका विशिष्ट सदस्य ,परोपकार भूपू समुह चनौली र आमा कल्याण समूह चनौलीका सदस्य, तमु प्ले ल्हु संघ चितवन समिति र महिला समितीका, टु क्ल्हेप्री तमु ह्युल नेपालका सल्लाहकारलगायत विभिन्न सामाजिक संघसस्थामा आवद्ध हुनुहुन्थ्यो ।
उहाँको ३ छोरी र १ छोरा रहेका छन् । गुरुङ भाषाको चलचित्र सिमी नासाको निर्माता उहाँको छोरी मेनुका गुरुङ हुन् । उहाँको श्रीमान सुवेदार पदमबहादुर गुरुङको ९ वर्ष अघि निधन भएको थियो ।
वि.स. २०३४ सालतिर चितवनको चनौलीमा बसाई सराई गरी आउनु भएको उहाँलाई धेरैले सुवेदार्नी आमाका रुपमा चिन्दथे । उहाँ जीवनको अन्तिम क्षणमा पनि समाज बिकासकै लागि चिन्तित हुनुभएको छरछिमकी पनि बताउँछन् ।




