काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बौद्ध दर्शनसँग जोडिएको धार्मिक तथा सांस्कृतिक महत्वको पद्यसंभव पदमार्ग नेपालको पर्यटन विकासका लागि कोसेढुङ्गा सावित हु ने बताएका छन । पर्यटन मन्त्रालयमा बारबरा पाउण्डेशनका पदाधिकारी तथा सरोकारवालासँग उक्त पदमार्गको विकास बारेको छलफलमा मन्त्री भट्टराईले संस्कृति पर्यटकको बहुअआयामिक महत्व बोकेको पदमार्गले नेपालमा तिब्बतियन र चिनियाँ पर्यटक बढाउन तथा उनीहरुको बसाइ लम्ब्याउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उनले पद्यसंभव पदमार्गको विकासका लागि चालू आवको बजेटमा समावेश गरिएको जानकारी दिदैँ यसको लागि विस्तृत कार्ययोजनाको तयारीका लागि मन्त्रालयको संस्कृति महाशाखालाई निर्देशन दिए। पर्यटनमन्त्री भट्टराईले नेपालको सांस्कृतिक पर्यटनको हिसाबले पनि बुद्धसँग सम्बन्धित सम्पूर्ण अधिकार नेपालको भएको दाबी गर्दै पदमार्ग विकासले अन्तर्राष्ट्रिय सांस्कृतिक पर्यटनको हबको रुपमा विकास हुने बताए।
उनले भने, ‘‘बुद्ध धर्मको प्रचार गर्ने प्रमुख गुरु आचार्य पद्यसंभवले नेपालका विभिन्न स्थलमा भ्रमण गरी विशेष गन्तव्य बनाउनुभएको छ, यसलाई सांस्कृतिक पर्यटकीय पदमार्गको रुपमा विकास गर्न सरोकारवालासँग छलफल गरी विस्तृत कार्ययोजना बनाउछौँ, नेपालको पर्यटन प्रवद्र्धनका लागि यो धेरै ठूलो परिकल्पना हो । यसले लाखौँ तिब्बतियनलाई आकर्षण गर्नेछ ।’’
पुरातत्व विभाव, पर्यटन विकास, लुम्बिनी विकास कोषलगायत स्वतन्त्र व्यक्तिले गरेको अध्ययनलाई पनि एकीकृत गरी सरोकारवालासँग थप छलफल गरी पदमार्गको विस्तृत कार्ययोजना अघि बढाइने उनको भनाइ छ । तक्सिलामा जन्मिएक तान्त्रिक गुरु पद्यसंभव आठौँ सताब्दीमा नेपाल आएर तपस्या गरिरहेका बेला तिब्बतियन राजाले उनलाई तिब्बत बोलाएर बुद्धधर्मको प्रचार गर्न लगाइएको पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले बताए ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका प्रा डा रमेशकुमार ढुङ्गेलले पद्यसंभव पदमार्गले अन्तर्राष्ट्रिय सांस्कृतिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए। लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठी, बौद्ध दर्शन तथा गुम्बा विकास समितिका अध्यक्ष फुपुछेम्बे शेर्पा जिक्डोल, बुद्धिष्ट सर्टिकका अभियानता विक्रम पाँडे काजीलगायतले पदमार्गको अवधारणालाई महत्वपूर्ण पर्यटकीय प्रडक्टको रुपमा विकास गरिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, फाउण्डेशनका अध्यक्ष डा सन्दुक रुइत, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेल, पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मी लगायतको उपस्थिति थियो ।




