कर्णाली । मुलुकभर झैँ कर्णाली प्रदेशमा कोरोना सङ्क्रमण नियन्त्रणमा आउन सकेको छैन । बन्दाबन्दी खुलेको एकसाता पुग्दैछ । सरकारी तथा गैरसरकारी कार्यालय तथा शहर बजारमा नागरिकको भीडसमेत बढ्न थालेको छ ।
यसले विगतमा देखिएको कोेरोना भाइरसको मनोविज्ञानभन्दा अब कोरोना रोगले ग्रसित भएपछि नागरिक स्वास्थ्य संस्थामा आउने र मृत्यु हुने खतरा बढेको चिकित्सकले बताउँदै आएका छन् । कर्णाली प्रदेश अस्पतालका कोरोना सम्पर्क व्यक्ति डा के.एन.पौडेलले विगतमा सङ्क्रमण मात्र देखिँदै आएकामा अब लक्षण नै देखिने अवस्थामा पुगेकाले खतरा बढेको बताए ।
कर्णालीको जुम्लामा सङ्क्रमित व्यक्ति निको भएर घर गएपछि कोरोना मुक्त भएको छ । यद्यपि परीक्षणको दायरा बढाउँदा सङ्क्रमण देखिने सम्भावना त्यत्तिकै रहेको चिकित्सकले प्रतिक्रिया दिँदै आएका छन् । आज मात्रै कर्णालीका ३१ जना व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए।
दैलेख अस्पतालमा गरिएको आरटी पिसिआर परीक्षणमा दुल्लु नगरपालिका दैलेखका २८ चौरजहारी नगरपालिका पिसिआर प्रयोगशालमा गरिएको परीक्षमा सल्यान कुमाख गाउँपालिकाका दुई र कर्णाली प्रदेश अस्पताल सुर्खेतमा गरिएको आरडिटी पिसिआर परीक्षणमा चिङ्गाड गाउँपालिकाको एक जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य शिक्षा अधिकृत कँडेलले बताए।
उनका अनुसार शनिबार २७, आइतबार २८ र आज ३१ सङ्क्रमित थपिएसँगै कर्णालीमा कोरोना भाइरसबाट सङ्क्रमित हुने सङ्ख्या एक हजार ९१० पुगेको छ । १२ पुरुष र एक महिला सङ्क्रमित निको भएर घर फर्केसँगै कर्णालीमा कोरोना जितेर घर फर्कनेको सङ्ख्या ६५९ पुगेको मन्त्रालयको जनस्वास्थ्य शाखाले जनाएको छ ।




