काठमाडौं । चैत ७ गते रिलिज हुने फूलमान वल निर्देशित फिल्म ‘नीरफूल’ को ट्रेलर सार्वजनिक भएको छ । भुकम्पको बेला हराएका श्रीमती र छोरी खोज्ने एक ब्यक्तिको संघर्ष फिल्मको ट्रेलरमा देखाइएको छ । ‘नीरफूल’ दुई वर्ष अगाडि निर्माण भएको फिल्म हो ।
पटकपटक प्रदर्शन मिति घोषणा भएर पनि विभिन्न कारणले सर्दै आइरहेको यो फिल्ममा दयाहाङ र शान्तिका अलावा बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतले अभिनय गरेका छन् । फिल्मको एक आइटम गीतमा अभिनेत्री रेखा थापाले अभिनय गरेकी छन् ।
फिल्मको पटकथा सचिन घिमिरे र निर्देशक वलले मिलेर लेखेका हुन् । फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसँगको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता दुबईकी सोनाम डोमा हुन् । निर्देशक फूलमानले फिल्ममा धादिङ रुबी भ्यालीको एउटा परिवारमार्फत भूकम्प बेलाको मानवीय संघर्ष र आम मनोविज्ञान पस्किन खोजेको बताए ।
फिल्मलाई प्रमोद कार्कीले खिचेका हुन् । अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको फिल्मको सम्पादन निमेष श्रेष्ठले गरेका छन् । फिल्मलाई गोविन्द शाही र मनोज राठीले वितरण गर्दैछन् ।
निर्देशक फुलमान वलले भुकम्प पछिको मानिसमा परेको प्रभाव र समस्य फिल्ममा उतारेको बताए ।




