काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलपछि सचिवालय बैठकमा ओली पनि सहभगागी भएका छन् । ओलीसमेत सहभागी भएपछि बैठक सौहार्दपूर्ण रुपमा सुरु भएको छ ।
बैठकअघि ओली र प्रचण्डबीच आधा घण्टा कुराकानी भएको थियो । दुई अध्यक्षबीच कात्तिक २५ गतेयता भेटघाट भएको थिएन । आजको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको छ ।
मंसिर १७ गते नै अध्यक्षद्वयको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची तय गरिए पनि ओली अनुपस्थित भएपछि बैठक आजसम्मका लागि स्थगित भएको थियो । यसबीचमा ओली निकट नेताहरुले दुई अध्यक्षबीच सहमतिको प्रयास गरेका थिए । आजको बैठक केही दिन पर सारेर सहमति खोज्न सुझाएका थिए ।
पछिल्लो समय कार्यकारी अध्यक्ष प्रचण्ड र ओलीबीच पत्र दोहोरी शुरु भएको छ। सोही पत्र दोहोरीपछि दुई अध्यक्षबीचकी मनमुटाव सतहमा आएको थियो। मंसिर १७ गतेको सचिवालय बैठकमा दुई अध्यबीच सहमति गरेर मात्रै बैठकमा बस्नुपर्ने भन्दै ओलीले बैठकमा सहभागि नै नहुने अडान राखेका थिए । उनको अडानपछि अर्का अध्यक्ष प्रचण्डले केही बेर बैठक सञ्चालन गरेर ओलीलाई ३ दिनको समय दिनुपर्ने भन्दै २० गते सम्मकालागि बैठक स्थगित भएको जानकारी गराएका थिए । १७ मंसिरको सचिवालय बैठकले नेताहरु बीचमा पार्टीको संकट समाधानका लागि नेताहरुबीचको अनौपचारिक संवाद बढाउनुपर्ने निर्णय गरेको थियो ।




