मुख्य समाचार

प्रचण्डको भित्री रणनीतिः पूर्वमाओवादीलाई आफ्नो पक्षमा खुल्न लगाउँदै

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादी पक्षलाई बलियो बनाउने कसरत सुरु गरेका छन् । केही महिनाअघिसम्म प्रचण्ड पूर्वमाओवादी खेमाभित्रै संकटबाट गुज्रिरहेको अवस्थामा अहिले भने आफ्नो धारलाई बलियो बनाउने कसरतमा लागेका हुन् ।

अत्यन्तै विश्वासपात्र मानिने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट प्रधानमन्त्री केपी ओलीको पक्षमा खुलेरै लागे, ओलीको राजीनामा माग्न नहुने भन्दै प्रचण्डको आलोचना गर्न थालेपछि प्रचण्ड पक्ष कमजोर भएको मानिन्थयो, तर अहिले भने उनी आफ्नो धारमा शक्ति सञ्चयमा लागेका छन् ।

पूर्वमाओवादी खेमाकै नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलसमेत सरकारमा भएका कारण ओलीतिरै ढल्किन्थे । प्रचण्डले बोलाएको पूर्वमाओवादी पक्षको भेलामा बादल कमै सहभागी हुन्थे । पछिल्लो मन्त्रिपरिषद् पुनर्गठन हुनुअघि पूर्वमाओवादीका केही नेताहरू ओली पक्षमा लागेका थिए । प्रचण्डको ‘स्प्रिट’ विपरीत बोल्ने र हिँड्ने गरेपछि प्रचण्ड पूर्वमाओवादीभित्रै संकटमा परेका थिए ।
स्थायी कमिटीको निर्णयविपरीत प्रचण्डको सहमतिविनै ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेपछि चर्किएको विवादमा धेरै पूर्वमाओवादी नेताहरू प्रचण्डको पक्षमा उभिएका छन् । ओली सरकारमा सहभागी हुँदाहुँदै पनि गृहमन्त्री थापा र उद्योगमन्त्री भट्टले ‘ओली ठीक’ भनेर वकालत गर्न सकेका छैनन् ।

ओलीसँग हिमचिम बढाएका भनिएका कतिपय नेताहरूले खुलेरै ओलीको राजीनामा माग्न थालेका छन् । पूर्वमाओवादी पक्षीय नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले पार्टीभित्रको समस्याको निकास दिन अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पदबाट राजीनामा दिनुपर्ने बताए । ‘ओली प्रधानमन्त्री रहने भए अध्यक्ष छोड्नुपर्छ । एक पद मात्रै लिनुपर्छ । अब ओलीसँग सम्झौता हुँदैन । पार्टीभित्र निकास दिन अध्यक्ष ओलीले भूमिका खेल्नुपर्छ । ओलीले समस्या समाधानको जिम्मा लिनुपर्छ ,’ पौडेलले भने ।

ओलीसँगै सरकारमा सहभागी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले समेत ओलीको खुलेरै विरोध गरे । मन्त्री पुनले आफूसँग विमति राख्ने मन्त्रीसँग प्रधानमन्त्री ओलीले पूर्वाग्रह साँधेको आरोप लगाए । ‘उहाँको समर्थनमा बसेका मन्त्रीहरूसँग निकटताजस्तो, पार्टीभित्रका बहसमा विमति राख्दा अलि टाढाको देखेजस्तो । अलि असहयोग गरेजस्तो देखिन्छ । कोही विमति राख्ने होलान्, कोही सहमत हुने होलान् । सबैलाई लिएर जाने काम पार्टी अध्यक्षको हो,’ उनले भने ।
ओलीले सचिवालय बैठकमा पेश गरेको लिखित जवाफमाथि प्रतिक्रिया जनाउँदै मन्त्री पुनले भने, ‘पूर्वमाओवादी र पूर्वएमाले भनेर कित्ताकाट गर्ने गरी आएको छ । पूर्वमाओवादीमा पनि प्रचण्ड र अरु नेतालाई अलग गर्ने खालको रणनैतिक रूपले कित्ताकाट गर्ने र प्रचण्डलाई प्रहार गर्ने हिसाबले प्रतिवेदन आएको छ । त्यो बेठीक छ ।’

पछिल्लो समय प्रचण्डले पूर्व माओवादी खेमाका नेताहरूसँग छलफल र परामर्शसमेत बढाएका छन् । सचिवालय बैठकअघि प्रचण्डले नेताहरू जनार्दन शर्मा, हरिबोल गजुरेल र टोपबहादुर रायमाझीलगायतसँग परामर्श गर्न छुटाउँदैनन् । प्रचण्डले आफूहरूसँग परामर्श नै नगरेको भन्दै गजुरेल र रायमाझी केही समय असन्तुष्ट बनेका थिए । पूर्वमन्त्री तथा नेता जनार्दन शर्मा पनि स्थायी कमिटीको निर्णय कार्यान्वयन नगरेपछि ओलीसँग असन्तुष्ट छन् ।

पूर्वमाओवादी पक्ष ओलीको कार्यशैलीविरुद्ध एकजुट रहेका बेला पूर्व एमालेबाट वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतम पक्षले प्रचण्डलाई साथ दिइरहेका छन् । त्यही भएर ओलीले पार्टीमा बहुमतको निर्णय नमान्ने र बहुमतको खेल खेल्न नहुने अडान लिँदै आएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *