मुख्य समाचार

गैरकानूनी व्यवसाय गर्ने सुलिचौरका व्यापारीलाई कारबाही हुने

रोल्पा । गैरकानूनी रुपमा व्यवसाय संचालन गर्दै आएका सुलिचौर रोल्पाका व्यापारीलाई कारबाही हुने भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी राम केसीले उनीहरुलाई कारबाही गर्न जानकारी दिएका हुन् । हिजो बुधबार केसीको नेतृत्वमा बजार अनुगमनमा निष्किएको अनुगमन टोलीले सुलिचौर बजारमा गैरकानूनी रुपमा बिक्री वितरणका लागि छुट्छुट्टै स्थानमा राखिएको ४ सय ८० लिटर डिजल र २९.५ लिटर पेट्रोल जफत गरेको थियो ।

सुलिचौर बजारमा संचालनमा रहेका दाना पसल, होटेल र किराना पसलबाट डिजल तथा पेट्रोल जफत गरिएको हो ।
केसीका अनुसार यसरी गैरकानूननी रुपमा ब्यवसाय संचालन गर्ने ब्यापारीलाई कस्तो खालको निर्णय गर्ने भन्ने बारे बैठकले निर्णय गर्नेछ । यसका साथै डिजल तथा पेट्रोल अबैध रुपमा बिक्री वितरण गर्ने पेट्रोल पम्पलाई पनि कारबाही गरिने उनले जनाए ।

केसीका अनुसार अति प्रज्वलनशील पदार्थ यसरी पसल तथा होटेलमा राख्दा आगलागी हुने संभावना प्रवल रहन्छ । कतै आगलागी भैहाले यसले सिंगो गाउँ नै सखाप हुन बेर लाग्दैन भने ठूलो जनधनको क्षतिपनि हुनसक्छ । त्यसैले गैर कानूनी रुपमा ब्यवसाय संचालन गर्नेलाई कारबाही गर्नैपर्छ उनले भने ।

सहायक प्रजिअ केसीका अनुसार यी बाहेक अन्य ब्यापारीलेपनि लुकिछिपी गैर कानूनी काम गरेको पाइएमा तत्काल कारबाही गरिने छ । अनुगमन टोलीले बुधबार सुलिचौर बजारमामात्र करिव २९ वटा पसल अनुगमन गरेकोमा १३ वटा पसलबाट ठूलो संख्यामा म्याद गुज्रिएका खाद्य समाग्री जफत गरेको थियो ।

यसरी म्याद गुज्रिएका सामानहरु विक्री वितरण गर्नाले आम मासिनको स्वास्थ्यसंग खेलवाड हुने भएको हुँदा यस्तो कार्य नगर्न नगराउन सहायक प्रजिअले सरोकारवाला सबैलाई निर्देशन दिएका छन् । पछिल्लो समय रोल्पामा तीब्र रुपमा बजार अनुगमन भइराखेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *