रोल्पा । रोल्पा प्रहरीले विवाह मण्डपबाट बालविवाह रोकेको छ । हिजो आइतबार त्रिवेणी गाउँपालिका-७ डुम्लाखोलाका बहादुर वुढा (नाम परिवर्तन) की १४ वर्षिया छोरी र सोही वडाको माथिल्लो तितिमका बहादुर वली (नाम परिवर्तन) को १७ वर्षीया छोराबीच हुन लागेको विवाह मण्डपबाटै रोकिएको हो ।
यसरी दुई बालबालिकाकावीच विवाह हुँदैछ भन्ने सूचनाका आधारमा प्रहरीले मण्डपबाटै विवाह रोकेको रोल्पा जिल्लाका प्रहरी नायव उपरिक्षक नरेश सुवेदीले जानकारी दिए । उनका अनुसार बालविवाह हुँदैछ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी विवाह मण्डपमै पुगेको थियो । तर हिन्दू परम्पराअनुसार बैवाहिक कार्यक्रम भने सम्पन्न हुन पाएको थिएन । जसका कारण प्रहरीले दुलाहा दुलहीका अभिभावकलाई नियन्त्रणमा लिइ हुन लागेको विवाह रोकेको हो ।
प्रनाउ सुवेदीका अनुसार बालविवाहलाई कानूनले दण्डनीय अपराध मानेको छ । बालविवाहले एकातिर बालबालिकाको अधिकारको हनन भइरहेको हुन्छ भने अर्कोतिर बालवालिकाको भाविष्य अन्यौलमा पु-याउछ । पढ्ने, लेख्ने केही सिक्ने तथा आत्मनिर्भर बन्ने बेलामा विवाह वन्धनमा वाँधिदा यसले वालवालिकाको मानसिक तथा शारिरीक विकासमा विभिन्न समस्याहरु उत्पन्न गराइराखेको हुन्छ । उनीहरु परिपक्व नभएका कारण एकातिर उनीहरुको शारिरीक तथा मानसिक विकास भइसकेको हुँदैन भने अर्कोतिर आम्दानीका श्रोतहरु बनिसकेका हुँदैनन् ।
जसका कारण अभाव र गरिवीले दिनप्रतिदिन समस्या चुलिदै जान्छ । फलस्वरुप यसरी बालबालिका परिपक्व नभइ भएका अधिकांस विवाहित जोडी वा तिनका परिवारमा पारिवारिक बैमनष्यता उत्पन्न हुने, पारिवार विखण्डन हुने, पारिवारिक वेमेल हुने वातावरण सृजना हुनसक्छ भने परिवारमा भैझगडा हुने, घरेलु हिंसा बढ्ने जस्ता क्रियाकलापले गर्दा समाजमा विभिन्न समस्याहरु देखिन थालेका छन् । त्यसैले गर्दा हरेक वालवालिकाको सुन्दर भविष्य निर्माणका लागि सम्पूर्ण अभिभावकहरु बालविवाह अन्तका लागि सचेत र सजग बन्नुपर्छ’ उनले भने ।
प्रहरीले मण्डपबाट विवाह रोके लगत्तै दुबै पक्षलाई प्रहरी चौकी जुगारमा ल्याई दुलाहा दुलहीको उमेर नपुगेको कारण विवाह गर्न नपाउने भनि सुझाव दिई ती बालबालिकालाई अभिभावकको जिम्मा लगाई घर पठाइएको छ । उमेर नपुग्दासम्म उनीहरुको विवाह रोक लगाइएको भए पनि उमेर पगेपछि उनीहरुले विवाह गर्न सक्नेछन् । प्रहरीले दुवै पक्षका अभिभावकहरुलाई भबिष्यमा पनि यस्ता किसिमका गैरकानूनी कार्यमा संलग्न नहुने भनी सही छाप गरी पठाएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिए ।
यसरी प्रहरीको सक्रियतामा विवाह रोकिएकोमा खुशी प्रकट गर्दै आगामी दिनमा सरोकारवाला सबैको सक्रिय साथ, सहयोग तथा ऐक्यबद्धता रहनुपर्नेमा नागरिक समाजका अगुवाहरुले जोड दिएका छन् ।




