अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा १८ वटा घरगोठ पहिरोमा पुरिएका छन् । शितगंगा नगरपालिका वडा नम्बर–१२, कोठिया मैदानमा जमिन भासिएर पहिरो जाँदा १८ घर पुरिएको वडा नम्बर–१२ का वडाअध्यक्ष बाबुराम गैरेले जानकारी दिनुभयो । ४० घर परिवारलाई सुरिक्षत ठाउँमा सारिएको पनि उहाँले बताउनुभयो । उक्त पहिरोमा कुनै पनि मानवीय क्षती भने भएको छैन ।
जमिन भासिएका कारण थप घरगोठमा जोखिम रहेको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनुभयो । ‘माथीबाट सुख्खा पहिरो खसिरहेको छ, प्रहरी निरीक्षक बस्नेतले भन्नुभयो,‘जमिन भासिएर घरहरु पुरिरहेका छन्, मानिसलाई सुरक्षित स्थानमा सारेका छौं ।’
माथीबाट झरेको पहिरो नरोकिएकाले जोखिम कायमै रहेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीले जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा सारिरहेका छन् । विस्थापित भएका घरपरिवारलाई गौरा मावी रजिया र कोठिया मैदान मन्दिरको समथर जग्गामा राखिने नगरप्रमुख सुर्य अधिकारीले बताउनुभयो । वैकल्पिक व्यवस्था नभएसम्मका लागि दुई ठाउँमा व्यवस्थापन गरिने उहाँको भनाई छ ।
पहिरोले मानवीय क्षति नभएपनि घरमा रहेको नगद, जिन्सी, अन्नपात, पशु चौपाया सबै पुरिएको प्रहरीले जनाएको छ । पहिरो खस्ने क्रम नरोकिएकाले साथै घरहरु पुरिने संख्या बढ्न सक्ने प्रहरीको भनाई छ ।




