मुख्य समाचार

डा के.सी. जीवन जोगाउन प्रधानमन्त्रीलाई कांग्रेसको अपील

काठमाडौं । चिकित्सा शिक्षामा सुधारको माग राखेर विभिन्न चरणमा अनसन बसेका डा. गोविन्द केसीको जीवन जागउन नेपाली कांगे्रसले अपील गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, प्रधानमन्त्रीको अग्रसरता ०७५ साउन १० गते डा. गोविन्द के.सी.सँग नेपाल सरकारले गरेको सहमति स्वयं प्रधानमन्त्रीकै अगुवाइमा माघ महिना उल्लंघन नगरिएको भए आजको परिस्थिति आउने थिएन ।

डा. के.सी.को पछिल्लो अनशन जुम्लामा शुरु भएर, नेपालगन्ज हुँदै काठमाडौ पुगेर जबर्जस्ती ट्रमा सेन्टर र त्यहाँबाट शिक्षण अस्पताल पुग्दै गर्दा सम्म सरकारले प्रस्तुत गरेको ब्यवहारले एक कर्मयोगिको अपमान मात्रै गरेको छैन सरकारको अविवेकी र अनुदार चरित्र थप उजागर गरेको छ ।

नेपाली कांग्रेसको पालामा चिकित्सा शिक्षामा विस्तार भएको, कांग्रेसकै पालामा चिकित्सा शिक्षामा सुधारका लागि उच्च स्तरीय माथेमा कार्यदल बनाइएको र डा. के.सी.का मागहरू पूरा गर्दै “राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, ०७४” पनि नेपाली कांग्रेसकै पालामा जारी गरिएको सर्वविदितै छ ।

सो अध्यादेशले मार्गप्रशस्त गरेको बाटोलाई नेकपाको सरकारले ईमानदार ढंगले कार्यान्वयनको दिशामा लगेको भए चिकित्सा शिक्षाको क्षेत्रमा सुधार र प्रगतिको गति यसबेला सम्म फरक उचाइमा पुगिसकेको हुने थियो । डा. के.सी.को यो अनशनको समयमा ‘बिराएको बाटोबाट ठीक बाटोमा आउन’ संघीय सरकारलाई नेपाली कांग्रेस हार्दिक अपील गर्दछ ।

डा. के.सी.को स्वास्थमा बढ्दो प्रतिकुलता दृष्टिगत गरेर तत्काल वार्ता समिति गठन गरि ‘इमानदार वार्ता र सार्थक कार्यान्वयन’ मा तदारुकता प्रस्तुत गर्न नेपाली कांग्रेस सम्माननिय प्रधानमन्त्री एवं उहाँको नेतृत्वको सरकारलाई अपील गरेको विज्ञप्तिमा उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *