काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको आडमा जनताको हितविपरित काम गरिरहेका कर्मचारीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । स्थानीय तह कर्मचारी युनियनले शुक्रबार आयोजना गरेको भर्चुल कार्यक्रममा सभापति देउवाले यस्तो बताएका हुन् ।
सभापति देउवाले सरकारको आडमा जनताको हितविपरितका काममा संलग्न कर्मचारीको सूची तयार गरेर राख्न पनि नेता–कार्यकर्ताहरुलाई निर्देशन दिए ।
कर्मचारी समायोजनको सन्दर्भमा भएको विभेदप्रति सभापति देउवाले असन्तुष्टि व्यक्त गर्दै भने, ‘नेपाली कांगे्रसले जितेका पालिकामा ओली सरकारले पूर्वाग्रह ढंगले कर्मचारी पठाएर दुःख दिने काम गरेको छ ।’ जनताले तिरेको करबाट तलब खाएर जनतालाई दुःख दिने कर्मचारीको कांग्रेसले राम्रोसँग हिसाबकिताब राख्ने सभापति देउवाले बताए ।
सरकार त अस्थायी हो, स्थायी सरकार मानिने कर्मचारीसमेत राजनीतिक आस्थाका आधारमा जनताको हित विपरित लाग्नु दुर्भाग्यपूर्ण भएको सभापति देउवाको भनाइ थियो ।
स्थानीय तह कर्मचारी युनियनले पनि कर्मचारी समायोजनमा गरिएको विभेदप्रति असन्तुष्टि जनाउँदै आएको छ । सरकारले कर्मचारीप्रति गरेको विभेद असैह्य भएको स्थानीय तह कर्मचारी युनियनका महासचिव एवम् स्थानीय तह समन्वय विभागका केन्द्रीय सदस्य रामप्रसाद पौडेलले जानकारी दिए ।




