ताजा समाचार

नेपालले आज नामिबियाको सामना गर्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणीय सिरिजमा आज नेपालले नामिबियाको सामना गर्दै छ ।

नेपालले यस सिरिजमा दोस्रो पटक नामिबियासँग खेल्न लागेको हो । सिरिजको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध कीर्तिमानी रन चेज गर्दै २ विकेटको जित हासिल गरेको थियो । नेपालले आफ्नो एकदिवसीय इतिहासकै सबैभन्दा ठुलो २८६ रन चेज गरेर जित हासिल गरेको थियो ।

त्यस्तै नेपालले यस सिरिजमा आफ्ना शुरुका दुवै खेल जित हासिल गरेर सुखद शुरुवात गरेको छ ।

त्यस्तै शुक्रबार आफ्नो दोस्रो खेलमा लिग टूको शिर्ष स्थानमा रहेको स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको थियो ।

त्यस्तै नामिबिया भने यस सिरिजमा पहिलो जितको खोजीमा आज मैदानमा उत्रिने छ । नामिबियाले आफ्नो पहिलो खेल नेपालसँग र दोस्रो खेल स्कटल्याण्डसँग हारेको थियो ।

आइसीसी विश्वकप लिग टुको अंक तालिकामा नेपाल २६ खेलमा २२ अंकसहितअहिले छैटौं स्थानमा छ भने नामिबिया ३२ खेलमा ३७ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

एकदिवसीय मान्यता बचाउने चुनौती

यस सिरिजमा २०२३ को विश्वकपको क्यलिफायरमा सिधै छनौट हुने चुनौतीसँगै नेपाललाई एकदिवसीय मान्यता बचाउने चुनौती समेत रहेको छ । एकदिवसीय मान्यता पाउन लिग २ मा नेपाल शीर्ष पाँचभित्र रहनुपर्ने छ ।

नेपालले लिग २ मा आजसहित १० खेल खेल्न बाँकि रहेको छ ।

नेपालले सन् २०१८ को मार्चमा भएको एक दिवशीय विश्वकप छनोट प्लेअफमा पपुवा न्यूगिनीलाई पराजित गरी पहिलोपल्ट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । नेपालको त्यो एकदिवशीय मान्यता आगामी जुलाइसम्म मात्र रहनेछ ।

यस सिरिजमा खेल्ने टिममा कप्तान रोहित पौडेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप जोरा, भिम सार्की, ललित राजबंशी, सोमपाल कामी र सुर्य तामाङ रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *