काठमाडौं । लुम्बिनी अल स्टार्सले नेपाल टी–२० लिगमा लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार सम्पन्न पहिलो खेलमा विराटनगर सुपर किंग्सलाई ३ रनले पराजित गर्दै दोस्रो जित निकालेको हो ।
रोमाञ्चक खेलमा लुम्बिनीले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको विराटनगर निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रनमा समेटियो ।
विराटनगरका दुवै ओपनर सस्तै रनमा आउट भए । गौरन्शु शर्मा ८ रनमा एलबीडब्लु धरापमा पर्दा अर्का ओपनर अर्जुन साउद १० रन जोडेर क्याच आउट भए ।
हुसैन तलतले सर्वाधिक ३९ रन बनाए भने रोहित पौडेलले २५ रनको योगदान गरे । पृथु बास्कोटाले १८ र सिकन्दर राजाले १७ रन बनाए । कप्तान आन्द्रे म्याकार्थीले अविजित ११ रन र विवेक यादवले अविजित १२ रन बनाए ।
लुम्बिनीका किशोर महतोले २ विकेट लिए भने प्याट ब्रोन, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी र सागर ढकालले १–१ विकेट लिए ।
यसअघि टस जितेर विराटनगरले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५७ रनको योगफल बनायो ।
लुम्बिनीका लागि ओपनर लाहिरु मिलान्थाले अविजित रहँदै अर्ध सतकीय इनिङ खेले । उनले ६३ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ८० रन बनाए । अर्का ब्याटर कुशल भुर्तेलले २६ रन बनाए भने कप्तान दीपेन्द्रसिंह ऐरीले १६ रन जोडे । यस्तै बिपुल शर्माले ११ रन बनाउँदा अर्का सुरुवाती ब्याटर अनमुक्त चन्द भने २ रनमै क्याच आउट भए ।
विराटनगरका नन्दन यादव, हुसैन तलत, शहब आलम, सिकन्दर राजा र आन्द्रे म्याकार्थीले १–१ विकेट लिए ।
लुम्बिनीले हिजो भएको खेलमा उसले फार वेस्ट युनाइटेडलाई ६७ रनले पराजित गरेको थियो ।
विराटनगरले भने टी – २० लिगमा पराजयबाट सुरुवात गरेको हो ।
यस्तै आजै हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र जनकपुर रोयल्स आमनेसामने हुनेछन् । पहिलो खेल हारेको पोखरा पुनरागमनको प्रयासमा छ ।
शनिबार उसले ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं नाइटससंग २६ रनले हार बेहोरेको थियो ।
१ सय ६२ रनको लक्ष्य पछ्याएको शरद भेषावकरको टोली १ सय ३६ रनमा अल आउट भएको थियो । जनकपुर जितका साथ लिग यात्रा सुरु गर्न चाहन्छ । यो खेल त्रिवि मैदानमै दिउँसो सवा एक बजेदेखि हुनेछ ।




