काठमाडौं । जिल्ला प्रहरी कार्यालय संखुवासभाले नक्कली प्रहरीको रुपमा ठगी गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ। पाँचखपन नगरपालिका ४ का अर्जुन तामाङ र रमेशकुमार तामाङलाई नक्कली प्रहरीको पोसाकसहित पक्राउ गरेको डीएसपी लालध्वज सुवेदीले बताए ।
नक्कली प्रहरीको रुपमा ठगी गरेको आरोपमा पक्राउ परेका रमेशले श्रीमति प्रमिला सार्कीलाई अपहरण गर्न ४ जना नक्कली प्रहरी परिचालन गरेको बताएका छन् । प्रहरीका अनुसार अझै २ जना नक्कली प्रहरी फरार छन् ।
पक्राउ परेका रमेश र प्रमिलाबीच विगत ६ महिनादेखि मनमुटाब थियो । प्रहरीले शुक्रबार खाँदबारीमा पत्रकार सम्मेलन गरेर नक्कली प्रहरीलाई सार्वजनिक गरेको हो । उनीहरुको साथबाट प्रहरी नायव निरीक्षक, प्रहरी हवल्दार र जवानको दर्ज्यानी चिन्हसहितको पोसाक र जुत्ता फेला पारेको प्रहरीले जनाएको छ ।




