काठमाडौं । राजविराज नगरपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ । पाँच वर्षअघि आजकै दिन मलेठ घटनामा सहादत प्राप्त गरेका पाँच जनाको सम्झनामा सार्वजनिक बिदा दिएको नगरपालिकाले जनाएको छ।
एमालेले सुरु गरेको मेची महाकाली राष्ट्रिय अभियानअन्तर्गत २३ फागुन २०७३ मा सप्तरीमा राखिएको कार्यक्रममा तत्कालीन मधेसी मोर्चाले अवरोध पुर्याउन खोज्दा प्रहरीको गोली लागेर पाँचजनाको ज्यान गएको थियो ।
प्रहरीको गोली लागी मलेठका सञ्जन मेहता, पिताम्बर मण्डल र वीरेन्द्र महतो, प्रसवनीका आनन्द साह तथा जमुनी मधेपुराका इन्द्रदेव यादवको मृत्यु भएको थियो । सरकारले यी पाँचैजनालाई शहीद घोषणा गरिसकेको छ । पाँचैजनाले सहादत प्राप्त गरेको स्मरणमा सार्वजनिक बिदा दिइएको राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवले जानकारी दिए।




