राजनीति

शशांकलाई उपसभापतिमा उम्मेदवारी दिन देउवाको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा पुनः सभापतिमा दोहोरिन खोजेका शेरबहादुर देउवाले सभापति पदका आकांक्षी एवं कांग्रेस महामन्त्री डा. शशांक कोइरालालाई आफ्नो समुहको उपसभापति बन्न आग्रह गरेका छन् ।

संस्थापन इतर समुहबाट सभापतिको उम्मेदवार सर्वसम्मत हुन नसकेको अवस्थामा कोइरालालाई यस्तो प्रस्ताव आएको हो । कोइराला र नेता प्रकाशमान सिंहको अडानले वरिष्ठ नेता रामचन्द्र पौडेल सभापतिमा उम्मेदवारी नदिने निष्कर्षमा पुगेका छन् ।

यता देउवा र शशांकका बीचमा नयाँ समिकरण बनाउँने प्रयास भएको छ । कांग्रेस स्रोतका अनुसार सभापतिका उम्मेदवार देउवाले कोइरालालाई आफ्नो टिमको उपसभापति बस्न प्रस्ताव गरेका हुन् ।

दीपक खड्का र भरत तिवारीले देउवालाई भेटाउन शशांकलाई लिएर गएको स्रोतको दावी छ । उता देउवा समुहबाट महामन्त्री नपाएपछि प्रवक्ता विश्वप्रकाश शर्माले अर्को समुहको खोजीमा छन् ।

विगतमा देउवा समुहमै रहेका उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दिदैछन् । प्रवक्ता शर्मा समेत निधिकै समुहबाट महामन्त्रीको उम्मेदवार हुने बारेमा छलफल जारी रहेको स्रोतको दावी छ । निधि र शर्माका बीचमा यस बिषयमा कुराकानी जारी रहेको छ ।

कांग्रेस विधानमा सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री र १ जना कोषाध्यक्ष मनोनित गरी १४ जना पदाधिकारी रहने व्यवस्था गरिएको छ । केन्द्रीय सदस्यहरू खुलातर्फ ३५ जना, विभिन्न समावेशी समूह र पिछडिएको क्षेत्रतर्फ ६५ जना र ७ प्रदेशबाट १÷१ महिलासहित २१ जना आउने छन् । कांग्रेसको विधानमा उपसभापति, महामन्त्री र केन्द्रीय सदस्यमा खुलातर्फको छुट्टै कोटा भए पनि सहमहामन्त्रीमा खुलातर्फ कोटा छुट्याइएको छैन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *