ताजा समाचार

बन्दीपुर गाउँपालिका सडकमा कालोपत्रे शुरु

दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाको डुम्रेदेखि बुद्धसिंह मार्गको घुमाउने जोड्ने थारुवास–ढाडखोलाको सडक कालोपत्रे शुरु गरिएको छ ।

गण्डकी प्रदेश सरकारको सहयोगमा बन्दीपुर गाउँपालिका–२ स्थित थारुबासमा कालोपत्रे शुरु गरिएको हो ।

प्रदेश सरकारको ५० लाख रुपैयाँको सहयोगमा ६ सय मिटर सडक कालोपत्रे शुरु गरिएको हो भने नाला निर्माण सम्पन्न भइसकेको बन्दीपुर ढाडखोला मोटरमार्ग उपभोक्ता समितिका अध्यक्ष सुदिन पौडेलले जानकारी दिएका छन् । उनको अनुसार एक साताभित्र कालोपत्रे निर्माण सम्पन्न हुनेछ ।

सडक कालोपत्रे नहुँदा वर्षामा हिलाम्ये र हिउँदमा धुलाम्ये समस्या रहँदै आएको छ ।

सोही सडक खण्डमा थप १ हजार ५ सय मिटर सडक कालोपत्रेको काम शुरु गरिनेछ ।

त्यसका लागि बोलपत्र सम्पन्न भइसकेको र सडक कालोपत्रेको ठेक्का दमौलीस्थित डायमन्ड कन्स्ट्रक्सन प्रालिले पाएको छ ।

सङ्घीय सरकारमार्फत् विनियोजित एक करोड ७० लाख रुपैयाँको लागतमा उक्त खण्ड कालोपत्रे गरिनेछ ।

सोही खण्डमा केही समय अगाडी मात्रै दुई करोड रुपैयाँको लागतमा नयाँ ट्रयाक खोलिएको छ ।

उक्त खण्डमा रहेको पहाड फोरेर तीन किमि नयाँ ट्रयाक खोलिएको अध्यक्ष पौडेलले जानकारी दिएका छन् ।

“पहरा भएको ठाउँ फोरेर नयाँ ट्रयाक बनाइसकेका छौ, त्यस खण्डमा पनि निकट भविष्यमै सडक कालोपत्रे गरिने र घुमाउनेसम्मकै सडक कालोपत्रे गर्ने योजना छ,” उनले भने, “त्यसपछि यहाँका जनातालाई आवतजावतमा सहज हुन्छ ।”

बन्दीपुरको डुम्रेदेखि घुमाउनेसम्म सडक कालोपत्रे भएपछि तनहुँ, लमजुङ, गोरखा लगायतका जिल्लाका बासिन्दालाई नारायणगढ जान सहज हुनेछ ।

सोही खण्डमा यस अगाडी नै बन्दीपुर गाउँपालिकाको बजेटमा एक हजार दुई सय ७० मिटर सडक कालोपत्रे भइसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *