काठमाडौं । लामो सयमदेखि स्थगित भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ । साउन १३ गतेदेखि स्थगित भएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्ने भएको हो ।
बैठकमा पार्टी भित्रको विवाद समाधना गर्न गठित कार्यदलले बुझाएको प्रतिवेदनलाई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले तयार गरेको प्रस्तावमाथि छलफल हुने बताइएको छ । यस्तै दुई अध्यक्षको जिम्मेवारीलाई प्रस्ट पार्ने तथा आगामी चैतमा महाधिवेशन गर्न प्रस्ताव गर्ने लगायतका बिषयहरुमा छलफल गरिने छ । यसैगरी मन्त्रीमण्डल पुनर्गठन निश्चित मापदण्ड बनाएर गर्नुपर्ने, प्रदेश र स्थानीय तहका कामलाई थप प्रभावकारी बनाउने, पार्टी एकताका बाँकी कामलाई टुङ्ग्याउन निश्चित अवधि तोक्ने सहितका विषयमा समेत छलफल हुने बताइएको छ । यस्तै अमेरिकी सहयोग परियोजना एमसीसी र केही अन्य विषयमा सामान्य छलफल गरेपछि स्थायी कमिटीको बैठक आजै टुङ्ग्याउने विषयम अध्यक्षद्धयबीच सहमति भएको बताइएको छ ।
कोभिड–१९ को नियन्त्रणलाई थप प्रभावकारी बनाउने उपायका बारेमा पनि नेकपा स्थायी कमिटीको बैठकमा छलफल गर्ने कार्यसूची तय गरिएको छ । यसअघि स्थायी कमिटीमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि पार्टीभित्र चर्को विवाद भएको थियो। यी सबै विषयहरुलाई कार्यदलले आफ्नो प्रतिवेदनमा समावेस गरेको छ । प्रतिवेदन माथि नै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले असहमति जनाउँदै आएको छ ।




