काठमाडौँ । नेपालमा भारतीय समाचार च्यानलहरुको प्रशारण बन्द गरिएको छ। च्यानल वितरक कम्पनीहरुले भारतीय समाचार च्यानलको प्रशारण बिहीबार साँझदेखि बन्द गरेका हुन्। नेपालका बारेमा अतिरञ्जित समाचार सामग्री प्रशारण गरेको भन्दै कम्पनीहरुले भारतीय समाचार च्यानलको प्रशारण बन्द गर्ने निर्णय गरेका हुन् ।
अपरेटरहरुसित सल्लाह गरी भारतीय समाचार च्यानलको प्रशारण बन्द गरिएको म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए । म्याक्सले करिब २० वटा भारतीय समाचार च्यानलको प्रशारण रोकेको हो । म्याक्स, डिसहोमलगायत वितरक कम्पनीले भारतीय समाचारका च्यानलको प्रशारण बन्द गरेका हुन् । मनोरञ्जन र खेलकूदका भारतीय च्यानलको प्रशारण भने बन्द गरिने छैन । अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले पनि सरकारले भारतीय मिडियामा नेपाल विरोधी समाचार आएको भन्दै त्यसको कानुनी उपचार खोज्ने बताएका थिए ।




