चैत्र १४ गते बुधबार संकल्प खबरले दिनभरी घटेका मुख्य १० मुख्य समाचार तयार पारेको छ । दिनभरी घटेका घटनालाई एक साथ हेर्न मिल्नेगरी संकल्प विशेष १० समाचारमा मुलुकमा घटेका मुख्य समाचारलाई समेटिएको हो । बुधबार तयार पारिएको मुख्य १० समाचारमामा महामन्त्री थापाले ‘संवाद यात्रा’ भोलीदेखि पुनः सुरु गर्दै देखि अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन सम्मका समाचार समेटिएको छ ।
हेर्नुहोस आजका मुख्य १० समाचार
महामन्त्री थापाले ‘संवाद यात्रा’ भोलीदेखि पुनः सुरु गर्दै
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चैत्र १५ गतेबाट ‘संवाद यात्रा’ पुनः सुरु गर्ने भएका छन् । महामन्त्री थापाले संवाद यात्राको तालिका सार्वजनिक गर्दै नवलपरासीको गोपीगञ्जबाट यात्रा सुरु गर्न लागेका हुन् । गत माघ २३ मा स्थगित भएको संवाद यात्रा बिहीबार १५ चैत बाट सुरु गर्न लागिएको थापाको सचिवालयले जनाएको छ ।
‘पहिला बिबिध कारणवस स्थगित ‘समुदायमा कांग्रेस अभियान’ अन्तर्गत संवाद यात्रामा महामन्त्री गगन कुमार थापाज्यू चैत्र १५, १६ र १७ गते नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाड र बाँके जिल्लाका कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेकाले उत्त कार्यक्रममा सहभागिताका लागि सम्बन्धित जिल्लावासी सबैमा हार्दिक अनुरोध गर्दछौ,’ सचिवालयले एक सूचना जारी गर्दै जनाएको छ । १३ माघबाट झापाबाट सुरु भएको संवाद यात्रा कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधन पछि स्थगित गरिएको थियो ।
१३ माघ देखि २६ माघसम्म हुलाकी राजमार्गले छोएका जिल्लामा संवाद गर्ने गरी यात्रा तय भएको थियो । पार्टीले १६ माघदेखि १० दिनका लागि ‘समुदायमा कांग्रेस’ अभियान देशभर गर्ने गरी कार्यक्रम बनाएको थियो । पार्टीका शीर्ष नेतालाई सात प्रदेश र केन्द्रीय नेताहरुलाई जिल्लामा प्रतिनिधि खटाएर अभियान चलाइएको थियो । बुढाथोकीको मृत्युपछि रोकिएको ‘समुदायमा कांग्रेस’ अभियानलाई निरन्तरता दिनेबारे भने पार्टीले निर्णय गरिसकेको छैन ।
प्रमाणका आधारमा मात्र आरोपितलाई पक्राउ गरी कारबाही गर्न गृहमन्त्रीलाई तामाङको आग्रह
राप्रपाका नेता तथा राज्य व्यवस्था समितिका सदस्य बुद्धिमान तामाङले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई प्रमाणका आधारमा मात्र आरोपितलाई पक्राउ गरी कारबाही गर्न आग्रह गरेका छन् । उनले विना प्रमाण हल्लाका भरमा आरोपितलाई पक्राउ गरेर सार्वजनिक रूपमा बेइज्जत गर्न नहुने बताए ।
उनले सुन तस्करीमा नाम जोडिएका माओवादी उपाध्यक्ष एवम् पूर्व सभामुख समेत रहेका कृष्णबहादुर महरालाई पक्राउ गरी बिरामी भएको नाटक गरेर अस्पताल पठाएको र पछि साधारण तारेखमा छोडेको भन्दै पक्राउ परेपछि कानुनी रूपमा शक्ति र सत्ताका आधारमा चलखेल नगरी प्रमाणका आधारमा कारबाही गर्नुपर्ने बताए । उनले बुधवार बसेको राज्य व्यवस्था समितिको बैठकमा यस्तो बताएका हुन् । कानुनी राज्यमा अपराधीलाई कानुनी आधारमा प्रमाण पु¥याएर पक्राउ गर्नुपर्ने र पक्राउ परेका व्यक्तिलाई कुनै पनि बहानाका आधार उन्मुक्ति दिन नहुने उनको भनाइ थियो ।
यस्तै उनले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सरकारले फिर्ता लिएको कि सम्बन्धित व्यक्तिले फिर्ता गरेको भन्ने गृहमन्त्रीलाई प्रश्न गरेका छन् । उनले बालुवाटार जग्गा काण्डमा कसैले जग्गा फिर्ता गरेकै आधारमा कुनै पनि प्रकृतिका भ्रष्ट्राचारमा मुछिएका व्यक्तिलाई कानुनी राज्यमा उन्मुक्ति दिने काम सही नभएको टिप्पणी समेत गरे । उनले बाँसबारी छाला जुत्ता प्रकरणमा पनि उस्तै प्रक्रियाबाट सरकार अघि बढेको भन्दै गृहमन्त्री लामिछानेको ध्यानाकर्षण गराएका छन् । उनले सरकारले अपराधीलाई प्रमाणका आधारमा पक्राउ गरेर कारबाहीलाई अगाडी बढाउन सके मात्र संविधान सम्बद्ध हुने दाबी गरे । उनका अनुसार विना प्रमाण कुनै पनि विषयमा नाम जोडिने बित्तिकै गहन अध्ययन अनुसन्धानविना आरोपितलाई पक्राउ गर्न थाले निर्दोषले पिडा भोग्नुपर्ने बाध्यता सिर्जना हुन्छ । यस्ता किसिमका गतिविधिको अन्त्यका लागि सरकारले वृहत अध्ययन अनुसन्धान र कानुनी दायरामा रहनुपर्ने आवश्यकता देखिन्छ ।
अनेरास्ववियु स्थायी कमिटी सदस्य रक्षा बम पक्राउ
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बम पक्राउ परेकी छिन् । उनलाई महाराजगञ्ज प्रहरीले पक्राउ गरेको हो । काठमाडौँको बालाजु क्षेत्रबाट धनगढी घर भएकी बमलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बमविरुद्ध आपराधिक लाभलगायत चोरीको समेत मुद्दा दायर भएको थियो । बमलाई म्याद थपका लागि जिल्ला अदालतमा उपस्थित गराउन लागिएको बताइएको छ । बमविरुद्ध आपराधिक लाभ लिएको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
सुदूर सरकार छाड्ने नाउपाको निर्णय
रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकार बाट बाहिरिने निर्णय गरेको छ । आज बसेको पार्टीको संस्थापक केन्द्रीय समितिको बैठकले संघ र प्रदेशमा नयाँ गठबन्धनलाई साथ दिेन निर्णय गरेसँगै प्रदेश सरकारबाट बाहिरिने भएको हो । सुदूरमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार रहेको छ । नाउपाले सरकार छाड्ने निर्णय गरेसँगै कमलबहादुर शाह नेतृत्वको सरकार ढल्ने निश्चित भएको छ ।
यसअघि पार्टीका संस्थापक भनिएका रेशम चौधरीले पार्टीलाई सुदुरपश्चिम सरकारमा सहभागी गराउने निर्णय गराएका थिए ।यसअघि नाउपाका संरक्षक रेशमलाल चाैधरी पक्षीय संस्थापक केन्द्रीय सदस्यकाे बैठकले प्रचण्ड नेतृत्वकाे सरकारलाई समर्थन नगर्ने निर्णय गरेकाे थियो तर अध्यक्ष श्रेष्ठले भने प्रचण्डलाई विश्ववासकाे मत दिन ह्ववीप लगाएकी थिइन् ।
प्रधानमन्त्री प्रचण्डको निर्देशनः उत्पादन र रोजगार केन्द्रित बजेटको तयारी गर्नुस्
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परम्परागत ढाँचाको नभएर उत्पादन र रोजगारीलाई लक्षित गरी बजेट निर्माणको तयारी गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित आर्थिक वर्ष २०८१र८२ को बजेटको स्रोत अनुमानसम्बन्धी बैठकमा उनले जनतामा आशा जगाउने गरी उत्पादन र रोजगार केन्द्रित बजेटको तयारी गर्न निर्देशन दिएका हुन् । ‘नीति तथा कार्यक्रम र बजेट निर्माणमा दुई थरि ‘स्कुल अफ थट’ छन् । एउटा दृष्टिकोण छ, ‘अर्थतन्त्र दबाबमा छ, धान्न सक्ने परम्परागत ढाँचाकै बजेट बनाएर जाउँ ।’ अर्को दृष्टिकोण छ, ‘चुनौतीभित्र नै केही गरेर देखाउने र परिणाम दिने अवसर पनि हुन्छ ।’ त्यसैले नीति तथा कार्यक्रम र बजेटमार्फत केही नयाँ गरौँ । देशमा केही हुँदैन भन्ने भाष्य व्यवहारबाट चिरौँ । म चाही केही नयाँ गरौँ भन्नेमा दृढ छु,’– उनले भने ।
छलफलमा प्रधानमन्त्रीले सङ्कटको बेला राज्यले हस्तक्षेप गरेरै भए पनि अभिभावकीय भूमिका खेल्नुपर्ने बताए । ‘सङ्कटको बेला नै राज्य चाहिन्छ । राज्यप्रति जनताको विश्वास बढ्ने पनि यस्तै बेला हो । त्यसैले बजेटलाई नयाँपन दिउँ । सरकारले केही नयाँ गर्दैछ भन्ने कुरा जनताले प्रष्ट देखुन् । उनीहरूमा सकारात्मक आशा जागोस् । जनतामा आशा जगाएर मात्रै हरेक देशले प्रगति गर्न सक्छ,’– प्रधानमन्त्रीले भने ।
.सो क्रममा राजस्व बढाउन नयाँ कार्ययोजनासहित अगाडि बढ्न प्रधानमन्त्रीले निर्देशन दिए । ‘राजस्व सङ्कलनलाई प्रभावकारी बनाउन जोड दिनुस् । राजस्वको दायरा बढाउने र चुहावट रोक्ने काममा केन्द्रित हुनुस् । पुँजीगत खर्चको सामथ्र्य बढाउन विशेष रूपले अग्रसर हुनुस्। पुँजीगत खर्च नबढ्नुको प्रमुख कारण खर्च गर्न नसक्ने र अनावश्यक ठाउँमा बजेट फस्नु हो । यसपटक निर्मम भएर आयोजनाको प्राथमिकीकरण गर्नुस् । राम्रो गरिरहेका योजनामा बजेट थपेर अनावश्यक ठाउँको बजेट घटाइदिनुस्,’– उनले भने ।
आयोजनाको प्राथमिकीकरणको काम व्यवस्थित गर्नसमेत प्रधानमन्त्रीले निर्देशित गरे । ‘जुन आयोजनामा काम राम्रो भएको छ, खर्च गर्ने क्षमता पनि राम्रो छ, त्यस्तोलाई प्राथमिकता दिउँ। जहाँ केही काम भएको छ, त्यसलाई निरन्तरता दिउँ। जहाँ काम भएको छैन, त्यस्ता योजना हटाइदिउँ।’ उनले भने, ‘बजेट मात्रै थुपार्ने तर कुनै परिणाम नदिने र अनावश्यक दायित्व मात्रै थप्ने योजना नराखौँ। त्यसरी हटाएका योजनामा जाने बजेट उत्पादन र रोजगारी सृजनामा केन्द्रित गरौँ ।’
नेकपा एसले टुंग्यायो उम्मेदवार : इलाममा जीतबहादुर, बझाङमा दिलबहादुरलाई उठाउने
कपा एकीकृत समाजवादीले वैशाख १५ गते हुने उपनिर्वाचनको लागि आफ्नो उम्मेदवार टुंग्याएको छ । नेकपा एसले प्रतिनिधिसभाअन्तर्गत इलाम २ मा जीतबहादुर राई र बझाङको प्रदेशसभातर्फ दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । इलाममा राई र बझाङमा सिंह उम्मेदवार बन्ने निश्चित भएको तर पार्टीले औपचारिक निर्णय गर्न बाँकी रहेको सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।
दुर्गा प्रसाईंले आफ्नो हत्या गर्न खोजेको ओलीको आरोप
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दुर्गा प्रसाँईले विगतमा आफ्नो हत्या गर्न खोजेको आरोप लगाएका छन् । । सामजिक संजाल ट्वीटरमा सार्वजनिक गरिएको भिडियोमा अध्यक्ष ओलीले २०६४ सालमा दुर्गा प्रसाँईले बाटो छेकेर ढुङ्गा हान्दै हत्या गर्न खोजेको आरोप लगाएका छन् । ओलीले विगतमा दुर्गा प्रसाँईको टोलीले ज्यान मार्ने उदेश्यको साथ उक्त कार्य गरेको आरोप लगाउँदै हत्या गर्न बारम्बार प्रयास गरेको तर असफल भएको दावी अध्यक्ष ओलीले गरेका छन् । तर कुरा पुरानो हो ।
अहिले नेकपा एमालेका कार्यकर्ताहरुले प्रसाँईलाई डाउन गर्नका लागि उक्त भिडियो सार्वजनिक गरेको आंसका गरिएको छ । विगतमा प्रसाईले प्रधानमन्त्री प्रचण्ड र ओलीलाई मार्सी चामलको भात आफ्नै निवासमा खुवाएका थिए । ओलीसँग केही समयअघिसम्म प्रसाँईको सम्बन्ध निकै सुमधुर थियो । भिडिओ क्लिप्समा ओलीले कुन ठाउँमा के सन्दर्भमा आफ्नो हत्या प्रयास भएको थियो भन्ने कुरा भने उल्लेख गरेका छैनन् । प्रसाईं मेडिकल व्यवसायीका रुपमा चिनिएका व्यक्ती हुन् । अहिले उनले जनताका आवाज उजागर गर्दै बैङक तथा वित्तिय संस्थाको महँगो ब्याजको विरुद्धमा उत्रिएका छन् ।
सहकारी प्रकरणदेखि विनोद चौधरीबारे गृहमन्त्री : प्रतिशोध राख्ने काम हुनेछैन्
उपप्रधान एवम गृहमन्त्री रवि लामिछानेले उजुरी दर्ताको विषय सिधैँ गृहमन्त्रीकै तहबाट हेर्नेगरी संयन्त्र निर्माण गर्नेबारे छलफल अन्तिम चरणमा पुगेको बताएका छन् । बुधबार राज्य व्यवस्था समितिमा भएको छलफलमा उनले उजुरी दर्ताको प्रवृत्तिमा धेरै गुनासो आएको भन्दै यसको लागि व्यवस्थित संयन्त्रको तयारी अन्तिम चरणमा पुगेको बताए । उनले भने, ‘उजुरी दर्ताको प्रवृत्तिमा गुनासो धेरै छ । त्यस्ता गुनासोहरु हाम्रो निकायका अधिकारीहरुले गरेका कमी कमजोरीहरुलाई गृहमन्त्रीकै तहबाट हेर्ने एउटा संयन्त्र बनाउने तयारीमा छौं । त्यसका लागि छलफल अन्तिम चरणमा छ । त्यस्तो हुँदा सोझै गृहमन्त्रीलाई पनि खबर आउने र आम जनमानसको चेतनालाई मध्यनजर राख्न सकिन्छ भन्ने लागेको छ । सोझै हामीसम्म आईपुग्ने संयन्त्रको लागि अन्तिम तयारीमा छौ ।’
यस्तै, उनले सांसदहरुले सुरक्षाको सन्दर्भमा उठेका प्रश्नको जवाफ दिदैँ सुविधाका नाममा राष्ट्रसेवक कसैको भाडा माँझेर, लुगा धोएर र अगाडि पछाडी हल्लिएर नहिड्ने स्पष्ट पारे । उनले भने, ‘सांसदहरुले सुरक्षा माग गर्दा त्यसको अवस्था हेरेर गम्भीरतापूर्वक लिइएको छ । तर सुविधाका नाममा हाम्रा राष्ट्रसेवक कसैको भाडा माझेर, लुगा धोएर बस्दैनन् र अगाडि पछाडी हल्लिएर हिड्दैनन् । आवश्यकताका आधारमा गृहमन्त्री गम्भीर र जिम्मेवार छ । तर कानूनी अधिकारको दुरुपयोग गर्ने हो भने त्यसलाई हामी स्वीकार गर्न सक्दैनौ ।’ उनले राज्यको निकायमा बसेर आफूसँग भएको राजनीतिक, व्यक्तिगत र व्यवसायिक पूर्वाग्रही राख्ने मानिस पदको लायक नभएको भन्दै आफ्नो कार्यकालमा कहींकतै त्यसको गुन्जायस नहुने दाबी गरे ।
उनले भने, ‘राज्यको निकायमा बसेर आफूसँग भएको राजनीतिक, व्यक्तिगत र व्यवसायिक पूर्वाग्रही राख्ने हो भने त्यो मानिस त्यसका लागि लायक हुदैन् । राजनीतिक वा अन्य पूर्वाग्रहम आफ्नो कार्यकालमा आफ्नो तर्फबाट कहींकतै त्यसको गुन्जायस नहुने कुराको सुनिश्चित व्यक्त गर्न चाहन्छु । कानुनले दिएको अधिकारलाई दुरुपयोग गर्ने हो भने समाज कहाँ जान्छ, हामी यसमा सचेत छौ ।’ उनले विधिको शासनलाई ध्यानमा राखेर कानुन पालना गर्ने कुरामा कानुन पल्टाउने भन्दै कानुनभन्दा बाहिर रहेर प्रतिशोध राख्ने काम आफूबाट नहुने पनि बताए । सहकारी प्रकरणमा आफ्नो नाम मात्र उल्लेख भएको स्पष्ट पारे ।
‘उजुरीमा मेरो नामबाहेक केही छैन । न हस्ताक्षर न ल्याप्चे छ । न सामान्य फर्म भरिएको छ । मेरो नामबाहेक केही छैन । अदालतमा दर्ता भएको मुद्दामा म प्रतिवादी छैन । बयानमा पनि मेरो नाम उल्लेख भएको छैन,’उनले भने । उनले आफू सरकारमा सहभागी हुनुभन्दा पहिला नै सहकारी प्रकरणमा नाम उल्लेख गरिएको बताउँदै अहिले प्रभावित हुने काम नहुने बताए । त्यस्तै उनले सांसद विनोद चौधरीका बारेमा पनि जवाफ दिएका छन् । उनले पहिला थुन्ने र कुरा सुन्ने काम चौधरीको हकमा सरकारले नगरेको स्पष्ट पारे ।
‘सरकारले पहिला थुन्ने अनि सुन्ने गर्दैन । पहिला सुन्नपर्छ, नसुनी थुन्न हुँदैन भन्ने कुरामा मेरो बुझाई छ’, उनले भने, ‘त्यहीअनुसार माननीय विनोद चौधरीको केसमा पनि भएको हो । कसैप्रति दुषित पूर्वाग्रह राख्ने काम हामीबाट हुँदैन ।’ गृहमन्त्री लामिछानेले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका सुरक्षा गार्डबाट बरामद भएको हतियारबारे पनि स्पष्ट जवाफ दिएका छन् । ‘दुर्गा प्रसाईंले कानुनले दिएकोभन्दा बढी अधिकार प्रयोग गरेको देखिएको छ’, उनले भने, ‘हतियारको मालिक एकजना देखियो । तर प्रयोग अर्कैले गरेको पाइयो। चलाउने ब्यक्तिको हातमा हतियार नभएको कुरा थाहा भएपछि अनुसन्धान हुँदैछ ।’ उनले कसैलाई विना कारण छाड्नुपरे आफैं पद छाड्ने पनि बताए ।
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तलाई न्याय दिलाउन लागिरहने बताएका छन् । उनले उक्त हत्या प्रकरणबारेमा मिहिन ढङ्गले अध्ययन गरिरहेको पनि विश्वास दिलाएका छन् । आज (बुधबार) राज्यव्यवस्था समितिको बैठकमा सांसदहरुले सोधेको प्रश्नमा जवाफ दिँदै उनले यस्तो बताएका हुन् । उनले भने,‘मेरो पहिलो कार्यकालको निर्णय हो । निर्मला पन्तलाई न्याय दिनुपर्ने छ । त्यसमा लागिरहने छु ।’ यसअघि गृहमन्त्री बन्दा लामिछानेले निर्मला पन्तको हत्यारालाई कारबाही गरेरै छाड्ने उद्घोष गरेका थिए । तर, उनी त्यतिवेला नागरिकता विवादको कारण ३२ दिनमै सरकारबाट बाहिरिएका थिए ।नेपाल प्रहरीका प्रहरी महानिरिक्षक बसन्तबहादुर कुँवरले सुन तस्करी प्रकरणमा शंकास्पद भूमिका देखिएपछि नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरालाई पक्रियको बताएका छन् ।
बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै आईजीपी कुँवरले सो बताएका हुन् । महराले पीएसओ र गाडी छोडेर हिँडेपछि पक्राउ गरिएको बताए । “माननीय कृष्णबहादुर महराको विषय छ । आयोगको सिफारिस अध्ययन गर्यौँ । उहाँको स्वास्थ्यका कारण लिवरल हुने नै भन्ने थियो । तर, हामीलाई आभास भयो कि पक्राउ गर्नुपर्ने हो कि भन्ने त्यसैले ल्याइएको हो,” आईजीपी कुँवरले भने, “पीएसओ र गाडी छोडेर हिँड्नुभएको अवस्था थियो । त्यसपछि पक्राउ आवश्यक देखियो ।” उनले अदालतले नै अस्पतालमा राखेर अनुसन्धान गर्नु भनेपछि हाजिरी जमानीमा छोडिएको बताए । “अदालतले पनि अस्पतालमै राखेर मुद्दाको कारबाही अघि बढाउनु भनेको र हिरासतमा बस्दा बस्दै अर्को घटना नहोस् भनेर छाडिएको हो,” कुँवरले भने, “हामी दबाब प्रभावमा परेको होइन ।”
नगरप्रमुखसहित पाँचविरुद्ध करोड बढीको भ्रष्टाचार मुद्दा
सिराहा कर्जन्हाका तत्कालीन नगरप्रमुख गङ्गा पासमानसहित पाँच जनाविरुद्ध एक करोड आठ लाख रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार पासमानसहित नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलले सार्वजनिक निकायले निर्माणस्थलको व्यवस्था नभई बोलपत्र आव्हान गर्न नहुने प्रावधान विपरीत स्थानीय तहको केन्द्र परिवर्तन नहुँदै प्रशासनिक भवन बनाउन बोलपत्र आव्हानका लागि निर्णय गरी एक करोड आठ लाख रुपियाँ सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोप लागेको छ ।
यस्तै, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार र लेखापाल प्रविनकुमार महतोले उच्च अदालत जनकपुर, राजविराजबाट भएको आदेशको परिपालना नगरी प्रशासनिक भवन बनाउन सम्झौता गर्ने निर्णय गरेको र सोही सम्झौताको आधारमा म्याद समाप्त भइसक्दा पनि पेस्की रकम भुक्तन दिएको आरोप लागेको छ । यसैगरी, निर्माण व्यवसायी महालक्ष्मी–पाण्डे एण्ड कम्पनी–ड्रागन जेभीका आधिकारिक प्रतिनिधि बैजनाथ यादवले पेस्की भुक्तानी लिई निर्माण कार्य सुरु नगरेको र एडभान्स पेमेन्ट ग्यारेन्टीको म्याद समाप्त भइसक्दा पनि म्याद थप नगरी भ्रष्टाचार गरेको आरोप लागेको आयोगको विज्ञप्तिमा उल्लेख छ । उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम मुख्य कसुरदारलाई हुनेसरह नै जरिवाना र बिगो असुल हुन मागदाबी लिई बुधबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।
अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन
औषधि व्यवस्था विभागले अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन दिएको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले अनलाइन फार्मेसीबाट औषधिको झुटा तथा भ्रमात्मक प्रचार गरी बिक्रीवितरण गर्न पाइएकाले अनलाइन फार्मेसी बन्द गर्न निर्देशन दिएको बताए। अहिलेसम्म विभागमा अनलाइन फार्मेसीको स्वीकृत नलिएको र त्यसरी सामाजिक सञ्जालको प्रयोग गरी अनलाइन फार्मेसीका नाममा विभिन्न छुट उल्लेख गरी औषधि गैरकानुनी रुपमा बिक्री वितरण गरिएको महानिर्देशक ढकालले बताए । अनलाइन फार्मेसीका नाममा औषधिको भ्रमात्मक प्रचार गरी छुटलगायत प्रलोभन देखाई बिक्री वितरण गरिएको उनले बताए ।
औषधि ऐन, २०३५ को दफा १९ बमोजिम औषधिको झुट्टा तथा भ्रमात्मक प्रचार गर्न नहुने कानुनी व्यवस्था छ । “सामाजिक सञ्जाल वा पत्रपत्रिकामा औषधिको विज्ञापन गर्नुपूर्व औषधि ऐनको दफा १९ बमोजिम यस विभागबाट पूर्वअनुमति लिनपर्ने स्पष्ट कानुनी व्यवस्था छ,” महानिर्देशक ढकालले भने । अनलाइन फार्मेसीबाट बिक्री वितरण गरिएका औषधिको सुरक्षितता, गुणस्तरियता र प्रभावकारिताका सम्बन्धमा उपभोक्ता आफैँ जिम्मेवार हुनुपर्ने र त्यस्ता अनलाइन फार्मेसीबाट औषधि खरिद गरी सेवन नगर्न\नगराउन सबैमा अनुरोध गरिएको छ । अनलाइन फार्मेसी सञ्चालन गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने विभागले जनाएको छ ।




