समाचार

माटोका भाँडा बनाउने काममा रमाइरहन्छन गाजुराम

काठमाडौं । दाङको गढवा गाउँपालिका–३ पत्रेङगाका ७० वर्षीय गाजुरराम चौधरी मोटोका भाँडा बनाउने पेसामा अझै सक्रिय रहेका छन् । माघ महिनाको कठ्याङ्ग्रिने जाडोको कुनै प्रवाह नगरी अहिले पनि उहाँको दैनिकी माटो मुछ्नेदेखि भाँडा बनाउनेमा बित्छ ।

उहाँ विगत पाँच दशकदेखि सो पेसामा संलग्न हुनुहुन्छ । गजुराम मात्र होइन उनका सातभाइ छोरा यही माटोको भाँडा बनाउने पेसा अपनाएर जीवनयापन गर्दै आइरहेका छन् । विदेश गएरभन्दा आफ्नै जन्मभूमिको माटोमा काम गर्दा राम्रो हुन्छ भनेर आफूले छोराहरुलाई यही पेसालाई निरन्तरता दिन सुझाव दिएको उनले बताए ।

 यही पेसाबाट परिवार पाल्न सकिने र आम्दानी हुने देखेर छोड्न पनि नसकेको  उनको भनाइ छ  । उनले भने “जग्गा जमिन केही छैन, मेरो पनि छैन, बाबुबाजेको पनि थिएन, छोराको पनि छैन, तर यही माटोको भाँडा बेचेर धेरै पुस्ता बाँचिसक्यौँ  ।” गाजुरामसहित छोरा, बुहारी घैँटा, भुर्की, ठेकी, गमला, खुर्तुके, पालालगायतका भाँडा बनाउन व्यस्त देखिन्छन् । महिनामा रु १० हजारदेखि १५ हजारसम्म भाँडा बेचेर आम्दानी गरिरहेको गाजुरामले सुनाए  । 

छोराहरुले भने माटाको भाँडा बनाएर अझै बढी आम्दानी गर्ने गरेको उनको भनाइ छ । 

कुमाले गाउँ भनेर चिनिने पत्रेङ्गाका अगुवासमेत रहेका गाजुरामको परिवारले गाउँभरि सबैभन्दा धेरै भाँडा बनाउने गर्छन् ।

सो गाउँमा अहिले करिब ३५ घर परिवार कुमाल छन् । सबैको पेसा माटोका भाँडा बनाएर बेच्नु हो । आधुनिकीकरणसँगै बजारमा प्लाष्टिक तथा अन्य भाँडाको प्रचलन बढेपछि माटाका भाँडा बिक्न केही कमी भएको उनको  भनाइ छ ।

विद्यालय पढेका युवायुवतीले भने माटोको भाँडा बनाउन लजाउने गरेको भन्दै गाजुरामले थप्नुभयो, “पढायो पढायो, काम गरभन्दा मान्दैनन्, पढे लेखेकाले माटो मुछ्न लजाउँछन्, त्यसैले गाउँमा भाँडा बनाउने घटेका छन् ।” गाजुरामका कुनै पनि छोराले पढेका छैनन् । उले भने , “शायद पढेको भए, मैले नि माटोका भाँडा बनाउने थिइन कि ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *