काठमाडौं । तिलोत्तमा नगरपालिकामा एमालेबाट मेयरको उम्मेदवार भएका मोहन चापागाईंले २०४६ को जनआन्दोलनमा अखिलको मोर्चा सम्हालेका थिए ।
रुपन्देहीको आन्दोलनमा त्यसबेला शंकरनगर–आनन्दवन क्षेत्रले ठूलो प्रभाव पार्थ्यो । त्यसबेला अखिलको तर्फबाट उनी आन्दोलनको कमाण्डर थिए । आन्दोलनकै क्रममा प्रहरीले उनको घर घेराउ गरी चापागाईलाई पक्राउ समेत गर्यो । त्यसयता उनको राजनीतिप्रतिको झुकाव अरु बढ्दै गयो ।
२०३० सालमा बुवा काशीराम चापागाईँ र आमा ज्ञानकुमारी चापागाईँको कोखबाट जन्मिएका चापागाईंले राजनीति, पत्रकारिता र सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका छन् ।
दुर्गादत्त उच्च माविमा अनेरास्ववियुको प्रारम्भिक कमिटीको अध्यक्षबाट राजनीतिक यात्रा सुरू गरेका चापागाईं १६ वर्षकै उमेरमा २०४६ सालमा अनेरास्ववियु रूपन्देहीको सदस्य भइसकेका थिए । पछि अनेरास्ववियुबाट बुटवल बहुमुखी क्याम्पसमा स्ववियु उपसभापति बनेका थिए । चापागाईंँ ३० वर्षदेखि पत्रकारितामा संलग्न रहँदै आएका छन् ।
हाल एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य एवं प्रेस चौतारी इन्चार्ज रहेका चापागाईं प्रेस चौतारी रुपन्देहीको अध्यक्ष, केन्द्रीय उपाध्यक्ष, पत्रकार महासंघ रुपन्देहीको अध्यक्ष हुँदै केन्द्रीय सदस्य समेत बने । रेडियो लुम्बिनी स्थापनाकालमा उनी कार्यकारी निर्देशक बनेका थिए । त्यस्तै उनी सामुदायिक रेडियो प्रसारक संघ ९अकोराव० को अध्यक्ष समेत भए । त्यतिबेला भूकम्पका कारण क्षति व्यहोरेका देशभरका सामुदायिक रेडियोहरुको समस्या संबोधन गर्न उनले पहलकदमी लिएका थिए ।
२०७३ सालमा केपी ओली नेतृत्वको सरकारका अर्थमन्त्री रहेका विष्णु पौडेलले चापागाईंलाई सञ्चारविज्ञको रुपमा नियुक्त गरेका थिए । एमाले र माओवादी केन्द्र एकीकरण भई नेकपा बनेपछि उनले पार्टीको तिलोत्तमा नगर कमिटीको अध्यक्ष भए भने जिल्ला प्रचार विभाग प्रमुख बने ।
उनी तिलोत्तमा नगर कमिटीको नेतृत्वमा आएसँगै पार्टी एकतापछि कमजोर र लथालिङ्ग बनेको संगठनलाई सुदृढ बनाउन मुख्य भूमिका खेलेको एमाले नेताहरु बताउँछन् । पार्टीमा उनी कुशल संगठक र विपक्षीको रणनीति बुझेर सोही अनुसार योजना निर्माण गर्ने क्षमता राख्ने नेतामा पर्छन्।
चापागाईं अहिले बुटवलबाट प्रकाशित सबैभन्दा पुरानो पत्रिका दैनिक लुम्बिनीको अध्यक्ष छन् । उनी उम्मेदवार भएको तिलोत्तमा नगरपालिका स्थानीय तहमा दुई वर्षसम्म लगातार उत्कृष्ट नगरपालिका बन्न सफल भएको छ ।
अघिल्लो निर्वाचनमा एमालेले नेपाली कांग्रेस र जनमुक्ति पार्टीबीचको गठबन्धनसँग एक्लै चुनाव लडेको थियो । अघिल्लो निर्वाचनमा एमालेका वासुदेव घिमिरेले कांग्रेसका रामकृष्ण खाणलाई झण्डै २ हजार ३ सय मतान्तरले जितेका थिए । मेयरमा घिमिरेले १९ हजार ८४ मत ल्याउँदा खाणले १६ हजार २ सय ६४ मत प्राप्त गरेका थिए ।
उपमेयरमा जगेश्वरदेवी चौधरीले १९ हजार २ सय २४ मत प्राप्त गरी विजयी हुँदा जनमुक्तिकी गिता सारू मगर १६ हजार ६ मत प्राप्त गरी पराजित भएकी थिइन् । एमालेले उपमेयरमा चौधरीलाई नै दोहोर्याएको छ ।
२०७४ को निर्वाचनमा तिलोत्तमाका १७ वटा वडामध्ये वडा नंं ९, १०, १६ र १७ काँग्रेस–जनमुक्ति गठबन्धनले जितेको थियो भने अरू १३ वटा वडा एमालेले जितेको थियो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा ७१ हजार ७४ मतदाता रहेको तिलोत्तमामा यस पटक भने १४ हजार ६ सय ७३ मतदाता थपिएका छन् । निर्वाचन कार्यालय रूपन्देहीका अनुसार हाल तिलोत्तमा नगरपालिकाको मतदाता संख्या ८५ हजार ७ सय ४७ छ ।




