काठमाडौं । देशकै सबैभन्दा ठूलो एवं पुरानो राजनीतिक पार्टी नेपाली काँग्रेसको १४ औं महाधिवेशन प्रकृया जारी छ । दशैं, तिहार र छठ पर्वका कारण केही सुस्ताएको झैं देखिएको पार्टी गतिविधि पुनः पुरानै लयमा फर्किएको छ, र देशव्यापी चुनावी माहौल तातेको छ । पार्टीको आगामी नेतृत्व छान्ने भएकाले पनि यो महाधिवेशनको विशेष महत्व छ । काँग्रेस पार्टीको नेतृत्व लिने होडबाजीमा अहिले देखिएका पात्रहरुका बारेमा सबैलाई राम्रैसँग थाहा छ ।
पार्टीको मुख्य नेतृत्व अर्थात् पार्टी सभापतिमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले उम्मेदवारी दिने घोषणा गरिसकेका छन । तर यो घोषणा अघि नै वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति बिमलेन्द्र निधि, पूर्व उपसभापति प्रकाशमान सिंह, महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइराला र नेत्री सुजाता कोइरालाले सभापतिमा उठ्ने बताएर मैदान तताएका छन ।
देउवा बाहेकका सभापतिका यी आकांक्षीहरुको एउटै आरोप, गनगन र चिन्तन छः देउवाले पार्टीलाई लथालिंग बनाए । प्रकाशमान सिंहले हालै सिन्धुलीमा आयोजित पार्टी कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै गएको निर्वाचनमा देउवाको असक्षम नेतृत्वका कारण पार्टीको भोट पहिलेभन्दा घटेको आरोप लगाए । काँग्रेसलाई बर्तमान नेतृत्वले लथालिंग बनाएकाले विधि, पद्धति र प्रक्रियामा लगेर काम गर्नेलाई आगामी महाधिवेशनबाट चयन नगरे फेरि पनि भद्रगोल अवस्था हुने जिकिर गरेका थिए । पार्टीकै अस्तित्व संकटमा पुग्न लागेको आरोप लगाउन उनी पछि परेनन् । सिंहले चाक्सीबारीदेखि पार्टीका हरेक बैठक, भेलामा नेतृत्वमाथि मात्र गालीगलौज गरिरहेको लामै भइसक्यो । उनले नेतृत्वमाथि मात्र दोष थोपरिरहँदा आफैं पार्टीको जिम्मेवार नेता हुँ भन्ने कुरा बिर्सिएको सहजै अनुमान लगाउन सकिन्छ । यतिमात्र होइन, उनले यो पनि बिर्सेका छन् कि देउवाकै बुइँ चढेर उनी यो राजनीतिक हैसियतमा पुगेका हुन् ।
केही समयअघि एक टेलिभिजन अन्तर्वार्तामा नेत्री सुजाता कोइरालाले भन्दै थिइन्, “नेतृत्व लिन्छु भन्ने नेताहरु नै चरम गुटबन्दीमा लागेको र उनीहरुले पार्टीलाई सुदृढ एवं शक्तिशाली बनाउन कहिल्यै सक्दैनन् ।” वरिष्ट नेता पौडेल र प्रकाशमान सिंहको नामै लिएर नेत्री सुजाताले पौडेलले कहिल्यै गिरिजाबाबुलाई सहयोग नगरेको दाबी गरेकी थिईन । पौडेलले गिरिजाबाबुलाई जहिल्यै असहयोग गरेको तथा सरकार र पार्टीका दुबै काममा भाँजो हाल्ने काम मात्र गरेको नेत्री सुजाताको भनाई छ । यो शैली अहिले पनि पौडेल र सिंहले देउवाविरुद्ध अपनाइरहेका छन् ।
सर्वोच्च नेता गणेशमान सिंहका पुत्र समेत रहेका प्रकाशमान सिंहले काँग्रेसका आम कार्यकर्ता र नेताको भावना विपरीत जथाभावी बोल्दै हिँडेको र आफ्नो राजनीतिक जीवन नै धरापमा पार्न खोजेको देखिन्छ । उनले एक अनलाइनमा हालै दिएको अन्तर्वार्तामा पनि देउवाप्रति त्यस्तै आक्रोश पोखेका थिए । उनी भन्दै थिए, “नेपाली काँग्रेसको संसदीय दलको नेतामा शेरबहादुर देउवासँग प्रतिस्पर्धा मैले गरेको थिएँ । असफल भइसकेको नेतृत्वलाई सर्वसम्मत दलको नेता बनाउनु राम्रो होइन भनेर मैले प्रतिस्पर्धा गरेको हो । तर त्यसमा सफलता मिल्न सकेन ।” सिंहको यसै भनाईबाट पनि सिंह कमजोर रहेको प्रष्टै हुन्छ । आफ्ना कमीकमजोरीको आत्मसमीक्षा नगरी फेरि देउवाविरुद्ध पार्टी सभापतिमा उठ्छु भन्नु हास्यास्पद र मनगढन्ते कुरा बाहेक केही होइन ।
पटकपटक सरकारमा सहभागी भइसक्नु भएका सिंहले विगतमा मन्त्रालयको जिम्मेवारी नै सही रुपमा पुरा गर्न नसकेको आरोप पनि छ । उनको कार्यसम्पादन्प्रति आम काँग्रेसी कार्यकर्ता नै विश्वस्त हुन सकेका थिएनन् । सीमित व्यक्तिको घेरामा रमाउने सिंहले सिंगो पार्टीको नेतृत्व गर्न सक्ने कुनै आधार छैन । पार्टीको जिम्मेवार नेता हुँदा समेत पार्टीका कार्यक्रम, योजना र संगठनलाई व्यवस्थित गर्नुको साटो उल्टै तल्लो स्तरमा गिरेर नेतृत्वमाथि बिना आधार गालीगलौजमा तल्लिन रहेको आरोप छ । जानकारहरुका अनुसार सिंहभित्र कुण्ठा बढी छ, कामभन्दा आक्रोश छ । यो शैली र प्रवृत्तिले सिंहलाई क्षणिक रुपमा केही लाभ त होला, तर प्रकारान्तरले उनलाई नै हानि पुग्नेछ । यतिमात्र होइन, लौह पुरुष गणेशमान सिंहले सत्ताको लोभ नगरी बनाएको पारिवारिक प्रतिष्ठालाई समेत धुलिसात पार्दै सिंहले पदको लोभ देखाएको टिप्पणी आमकार्यकर्ताले गर्न थालेका छन् । उनी अहिले त्यागी पिताको लोभी पुत्रमा रुपान्तरित भएको आरोप पनि लागेको छ । भविष्यमा उनले यी प्रश्नको जवाफ दिन निकै हम्मेपर्ने देखिएको छ । सामान्य राजनीतिक संस्कार नभएका नेताको बर्बराहट र उत्ताउलोपन कांग्रेसजनका लागि घिनलाग्दो विषय बनेको छ । यतिमात्र होइन, पदका लागि कहिले कता कहिले कता लाग्ने उनको चरित्रले उनीमाथि चरम पदलोलुपको बिल्ला समेत लाग्न थालेको छ ।




