अर्थ

स्थानीय तहको बैठक भत्ता मात्रै दुई करोड ९० लाख

डोटी । जिल्लाका नौवटै स्थानीय तहले एकै वर्षमा बैठक भत्तावापत एक करोडभन्दा बढी खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सबै स्थानीय तहले आर्थिक वर्ष २०७५÷७६ मा बैठक भत्तावापत मात्रै एक करोड ९० लाख ६१ हजार ५२ खर्चेका हुन् ।

कार्यालयले वेबसाइटमार्फत सार्वजनिक प्रतिवेदनअनुसार जिल्लाको शिखर नगरपालिकाले सबैभन्दा बढी ३९ लाख रुपैँया, दिपायल सिलगढी नगरपालिकाले २९ लाख ४३ हजार ५००रुपैँया, पूर्वीचौकी गाउँपालिकाले १८ लाख ९७ हजार ३१२रुपैँया, सायल गाउँपालिकाले १७ लाख ३० हजार ५०० र केआइसिंह गाउँपालिकाले २१ लाख ३६ हजार ४०० रुपैँया बैठक भत्तामा खर्च गरेको पाइएको हो ।

यसैगरी जोरायल गाउँपालिकाले २६ लाख नौ हजार ३००रुपैँया, बडिकेदार गाउँपालिकाले १२ लाख ३६ हजार र आदर्श गाउँपालिकाले २६ लाख आठ हजार ४० रुपैँया खर्च गरेकाले प्रतिवेदनमा बैठक भत्ता नियमसङ्गत नभएको उल्लेख गरिएको छ ।

सुदूरपश्चिम प्रदेशसभाले निर्माण गरेको स्थानीय तहका पदाधिकारी तथा सदस्यको सेवा सुविधासम्बन्धी (पहिलो संशोधन) ऐन, २०७६मा स्थानीय तहका पदाधिकारीले बैठक भत्तावापत एक हजार रुपैँया लिन पाउने र एक महिनामा दुई पटकभन्दा बढी बैठकको भत्ता लिन नपाउनेसमेत व्यवस्था गरिएको छ । जनप्रतिनिधिले आफूखुशी भत्ता लिएको भन्दै यहाँका नागरिक आक्रोशित छन् ।

बोगटान फुड्सिल गाउँपालिकाको बैठक भत्ताबारे उल्लेख नगरिए पनि दैनिक भ्रमण भत्ता भने सबैभन्दा बढी १९ लाख ६२ हजार ८२५ रुपैँया खर्च गरिएको प्रतिवेदनमा देखाइएको छ । यस्तै केआइसिंहले रु १७ लाख १२ हजार ५२४, सायलले रु १३ लाख ३८ हजार ५०५, आदर्शले रु १३ लाख २० हजार ७२५, शिखरले १२ लाख ८५ हजार रुपैँया, बडीकेदारले १२ लाख ३५ हजार ९६०, पूर्वीचौकीले ११ लाख ४७ हजार ४०० र जोरायलले सबैभन्दा कम छ लाख दुई हजार ९०७ रुपैँया खर्च गरेको प्रतिबेदनमा उल्लेख छ ।

दिपायल सिलगढीको दैनिक भ्रमण भत्ताका विषयमा भने केही उल्लेख गरिएको छैन । उक्त भत्ता बुझ्ने स्थानीय तहका पदाधिकारीमध्ये पूर्वीचौकीका अध्यक्ष दीर्घराज बोगटी सबैभन्दा अगाडि छन् । उनले आव २०७५÷७६ मा तीन लाख ५३ रुपैँया बुुझेका कुरा प्रतिवेदनमा उल्लेख छ । यसैगरी बोगटान फुड्सिलका अध्यक्ष कमल गड्सिलाले पनि तीन लाख ३८ हजार ९००रुपैँया, जोरायलका अध्यक्ष दुर्गादत्त ओझाले तीन लाख २४ हजार ६०० रुपैँया, सायलका अध्यक्ष तेजबहादुर डुम्रेलले रु दुई लाख ९५ हजार ७०० र केआइसिंहका अध्यक्ष लोकेन्द्र शाहीले रु दुई लाख ६५ हजार भ्रमण भत्ता बुझनुभएको पाइएको छ ।

आदर्शका अध्यक्ष टेकबहादुर रोकायाले रु दुई लाख ५२ हजार ७००, शिखरका प्रमुख सीताराम जोशीले रु दुई लाख २३ हजार ४२५ र बडिकेदारका कृष्णबहादुर चन्दले रु एक लाख ८३ हजार ५०० दैनिक भ्रमण भत्ता बुझेको देखिएको छ । स्थानीय तहका उपप्रमुखमध्ये सबैभन्दा बढी दैनिक भ्रमण भत्ता बुझ्ने बोगटान फुड्सिलका उपाध्यक्ष भगवतीदेवी बम रहनुभएको छ । उहाँले एक वर्षमा रु दुई लाख ५९ हजार ३१५ बुझेका थिए । यस्तै बडिकेदारका उपाध्यक्ष इन्द्रा बोहरा भाटले पनि रु दुई लाख ४६ हजार ६३५ भत्ता बुझेका छन् ।

शिखरका उपप्रमुख धौलीदेवी रावलले रु दुई लाख नौ हजार ६२५ तथा उपाध्यक्षहरू मध्ये सायलका विष्नादेवी सिंहले रु दुई लाख सात हजार ५२५, जोरायलका जमुना बोहराले रु दुई लाख ७५७, केआइसिंहका मीना विष्टले रु एक लाख ९० हजार ७७५ र आदर्शका कमलादेवी ओझाले रु एक लाख ८४ हजार ७२५ बुझेका देखिएको छ । सबैभन्दा कम रकम बुझ्नेमा पूर्वीचौकीका उपाध्यक्ष निर्मला साउद हुनुहुन्छ । उनले १९ हजार ५५० रुपैँया मात्रै दैनिक भ्रमण भत्ता बुझेको प्रतिवेदनले उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *