जलश्रोत/उर्जा

सेती जलाशययुक्त आयोजनाले नौ सय घरधुरीमा असर पर्ने

डोटी । बोगटान फुड्सिल गाउँपालिकामा निर्माण गरिन लागेको जलाशययुक्त सेती आयोजनाले डोटी र अछामका गरी कम्तीमा पनि ८ सय ८४ घरधुरीमा असर पर्ने भएको छ । नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, विद्युत् विकास विभाग सानोगौचरण काठमाडौँले जिल्लाको बोगटान फुड्सिलमा गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा सो कुराको जानकारी दिइएको हो ।

कूल ३ सय ८ मेगावाट विद्युत् उत्पादन हुने अनुमान गरिएको उक्त आयोजना पूर्णरूपमा सम्पन्न गर्नका लागि ९१ अर्ब लगानी लाग्ने भएको छ । आयोजनाबाट सबैभन्दा बढी डोटीकोे बोगटान फुड्सिलमा क्षति हुने वातावरण परामर्शदाता डा.ज्योतिप्रसाद गजुरेलले जानकारी दिए ।

उक्त विद्युत् निर्माण गर्नका लागि ८ सय ८४ घरधुरीमा असर पर्ने अध्ययनले देखाएको छ । सोमा डोटीका मात्रै ६ सय ५६ घर छन् भने बाँकी २ सय २८ घर अछामका छन्। चार सय मिटर अग्लो हुने आयोजनाको बाँधले अछामकोे मङ्गलसैन नगरपालिकाका वडा नं ३, ५ र ७ चौरपाटी गाउँपालिकाका वडा नं १ र २ बोगटान फुड्सिलका वडा नं २, ५, ६ र ७ मा प्रभाव पार्ने बताइएको थियो ।

यस्तै डोटीकै केआइसिंह गाउँपालिकाका वडा नं २ र ३, दिपायल सिलगढी नगरपालिकाका वडा नं ७ र ८, पूर्वीचौकी गाउँपालिकाका वडा नं ५ र ७ मा पनि प्रभाव पर्ने जनाइएको छ । भौतिक वातावरणमा पर्ने प्रमुख असर डुबान भएको सो कार्यक्रममा जानकारी दिइएको थियो । डुबान क्षेत्रमा पर्ने ६ सय ६४ पक्की घर, २ सय २० कच्ची घर, ७ सय ५६ गोठ, १० झोलुङ्गे पुल, छ खानेपानी आयोजना, १२ घाट, २० मन्दिर, चार विद्यालय, दुई हेल्थ पोष्ट, ३२ हजार ७ सय ९९ बोटबिरुवा, तीन पक्की सडक र कच्ची सडक (३५ कि।मी), सिँचाइ पाँच योजना, एक पानीघट्टमा प्रभाव पर्ने कार्यक्रममा जानकारी दिइएको बोगटान फुड्सिलका अध्यक्ष कमलबहादुर गड्सिलाले जानकारी दिए।

आयोजनाका लागि वन क्षेत्र १०४०.९ हेक्टर, निजी जमिन १८७३.५ हेक्टर (३६ हजार ८२६.४९ रोपनी), १४६६.१२४ हेक्टर सरकारी जमिन प्रयोग हुने जानकारी गराइएको छ । आयोजनाले कम्तीमा पनि एक लाख १४ हजार ६ सय २ प्रजातिका बोटबिरुवा प्रभावित हुने वातावरण परामर्शदाता डा.गजुरेलले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *