मुख्य समाचार

एसईई नतिजा प्राविधिक समस्याका कारण भोलि बिहान मात्र सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार बिहान १० बजेसम्म प्रकाशन हुने भएको छ । बुधबार नै नतिजा सार्वजनिक गर्ने बोर्डले निर्णय गरेपनि प्राविधिक समस्याका कारण बुधबार नतिजा सार्वजनिक गर्न नसकिएको राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ । राष्ट्रिय परिक्षा बोर्डका अनुसार आज सार्जजनिक गर्ने भनिएको एसईईको बिहीबार बिहानसम्म सार्वजनिक गर्ने तयारी छ ।

बोर्डले एसईईको नतिजा सार्वजनिक गर्न भोलि बिहान ७ बजेका लागि बोर्ड बैठक बोलाएको छ । उक्त बैठकपछि नतिजा सार्वजनिक गरिने बोर्डले जनाएको छ । १५ चैत्रदेखि २७ चैतसम्म भएको एसईई परीक्षामा देशभरका ५ लाख ४ हजार ४१४ विद्यार्थी सहभागी थिए । बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्नेछ । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था छ ।

विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्छ । ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक ल्याउनुपर्छ । त्यसमा आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात १० अंक ल्याउनुपर्छ ।

लेटर ग्रेडिङ निर्देशिकाअनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रूपान्तरण गरिने छ । तर विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ पूर्णांकको परीक्षा हुने विषयमा ३५ प्रतिशत अर्थात २६.२५ अंक पाएको छैन भने प्रमाण पत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुनेछ । ग्रेड वृद्धि परीक्षा नदिइ कक्षा ११ मा पढ्न पाउने छैनन् ।

साथै कुनै एक विषयमा आन्तरिकतर्फ १० र सैद्धान्तिकतर्फ न्यूनतम २६.२५ अंक नल्याएको अवस्थामा विद्यार्थीले मूल प्रमाणपत्र नपाउने बोर्डले जनाएको छ । विद्यार्थीले २ विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् । दुईभन्दा बढी विषयमा न्यूनतम ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिँदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष एनजी लागेको विषयमा मात्र परीक्षा दिन पाउनेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *