काठमाडौं । नेपाली कांग्रेसभित्र नेतृत्व परिवर्तनपछि सुरु भएको भागबण्डाको राजनीतिमा संस्थापनइतर समूहका वरिष्ठ नेता डा.शेखर कोइरालाले कोशी प्रदेशमा उल्लेख्य उपस्थिति सुरक्षित गरेका छन्। विशेष महाधिवेशनको खुलेर विरोध गरेका कोइरालाले निर्वाचन आयोगबाट गगन थापा नेतृत्वलाई मान्यता दिएपछि व्यवहारिक राजनीतिमा फर्किँदै कोशीका विभिन्न निर्वाचन क्षेत्रमा आफ्ना निकट नेताहरूलाई उम्मेदवार बनाउन सफल भएका हुन्।
१४औँ महाधिवेशनमा शेरबहादुर देउवासँग पराजित भएपछि कोइरालाले कांग्रेसभित्र ‘इतर धार’को नेतृत्व गर्दै आएका थिए। देउवा नेतृत्वप्रति आलोचनात्मक रहँदै पार्टीका हरेक संरचनामा आफ्नो समूहको सहभागिता सुनिश्चित गर्ने रणनीतिमा उनी सक्रिय थिए। जेनजी आन्दोलनपछि गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको माग अघि सारेका बेला कोइराला बीचको भूमिकामा देखिए पनि अन्तिम चरणमा देउवापक्षसँगै उभिँदै त्यसको विरोध गरेका थिए। तर, आयोगको मान्यतापछि उनले नयाँ नेतृत्व स्वीकार गर्दै चुनावी मैदानमा प्रवेश गरेका छन्।
मोरङमा बलियो पकड
कोशी प्रदेशको सबैभन्दा ठूलो जिल्ला मोरङमा रहेका ६ निर्वाचन क्षेत्रमध्ये ३ सिट कोइराला पक्षको भागमा परेको छ। स्वयं डा. कोइराला मोरङ–६ बाट उम्मेदवार बनेका छन्। मोरङ–२ बाट डा. मिनेन्द्र रिजाल र मोरङ–३ बाट सुनिल शर्मा पनि कोइराला समूहका उम्मेदवार हुन्। मोरङ–४ का उम्मेदवार तथा महामन्त्री गुरुराज घिमिरे विगतमा कोइराला समूहमा रहे पनि विशेष महाधिवेशनपछि समूह परिवर्तन गरेका छन्।
इलाम, झापा र सुनसरीमा प्रभाव
इलाम–२ बाट भेषराज आचार्य कोइराला समूहबाट मैदानमा छन्। झापामा पनि उनको प्रभाव देखिन्छ—झापा–२ की उम्मेदवार सरिता प्रसाईं र झापा–१ का केशवराज पाण्डे कोइरालाका निकट मानिन्छन्।
सुनसरीमा भने टिकट वितरणलाई लिएर केही विवादसमेत देखियो। सुनसरी–२ का राजीव कोइराला र सुनसरी–३ का विजयकुमार गच्छदार कोइराला पक्षका उम्मेदवार हुन्। सुरुमा सभापति गगन थापाले विजयका भतिज बेदप्रकाश गच्छदारलाई टिकट दिएपछि कोइरालाले कडा आपत्ति जनाए र अन्ततः पार्टीले निर्णय सच्याउँदै विजयकुमारलाई नै उम्मेदवार बनायो। कांग्रेस स्रोतका अनुसार, त्यो निर्णय नफर्किएको भए कोइरालाको राजनीतिक पकड नै कमजोर पर्न सक्थ्यो।
अन्य जिल्लामा पनि उपस्थिति
भोजपुरबाट बालकृष्ण थापा, उदयपुर–१ बाट विदुर बस्नेत र उदयपुर–२ बाट रामकुमार राई कोइराला समूहका उम्मेदवार हुन्। यस्तै, धनकुटाका दिनेश राई, तेह्रथुमका सन्तोष सुब्बा, संखुवासभाका दीपिनकुमार श्रेष्ठ र पाँचथरका नरेन्द्रकुमार केरुङ पनि इतर समूहकै सूचीमा पर्छन्।
कोशी प्रदेशका कुल २८ निर्वाचन क्षेत्रमध्ये बाँकी क्षेत्रमा शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला समूहले पनि टिकट भागबण्डा गरेका छन्।
एकताको सन्देश
उम्मेदवारी दर्तापछि डा.कोइरालाले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न सहकार्य अनिवार्य भएको बताएका छन्। सभापति गगन थापाले वैशाखमा नियमित महाधिवेशन गर्ने प्रतिबद्धता जनाएको उल्लेख गर्दै उनले अब मुख्य विवाद टुंगिएको र कांग्रेस चुनावी प्रतिस्पर्धामा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरेका छन्।
कोशी प्रदेशमा कोइराला पक्षले पाएको सिट संख्या र प्रभावले कांग्रेसभित्र इतर समूह अझै पनि निर्णायक शक्ति भएको संकेत गर्छ, जसको वास्तविक मूल्यांकन भने आगामी निर्वाचन परिणामले नै गर्नेछ।




