देश

रुकुम पूर्वबाट राजनीतिक सन्देशः प्रचण्डको विदेशी हस्तक्षेपविरुद्ध चेतावनी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको शासन व्यवस्थामा विदेशी शक्तिहरू सक्रिय रहेको आरोप लगाउँदै त्यसको कडा जवाफ रुकुम पूर्वबाटै दिने घोषणा गरेका छन्। रुकुम पूर्वमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नेपालको राजनीति बाह्य प्रभावबाट निर्देशित हुन नदिने स्पष्ट सन्देश दिए।

प्रचण्डले आफू फेरि जनयुद्धको आधारभूमि रुकुम फर्किनुको कारण देशको जटिल राजनीतिक अवस्थालाई निकास दिनु भएको बताए। “मेरो उम्मेदवारी केवल संसद् प्रवेशका लागि होइन, देशलाई नयाँ राजनीतिक दिशातर्फ लैजानका लागि हो,” उनले भने। विकासका दृष्टिले रुकुम पूर्वलाई नयाँ ढंगले अघि बढाउने योजना सुनाउँदै प्रचण्डले दाङ–रोल्पा हुँदै रुकुम पूर्वको हुकाम र मैकोटलाई डोल्पाको सहरतारासँग जोडेर चीनसम्म पुग्ने व्यापारिक मार्ग निर्माण गर्ने प्रस्ताव अघि सारे। रुकुम पूर्व हिमाली जिल्ला भइसकेकाले यसलाई ‘विशेष स्वायत्त प्रदेश’का रूपमा विकास गर्न पहल गर्ने प्रतिबद्धता पनि उनले जनाए।

आफू जहाँबाट चुनाव लड्यो, त्यहीँको मुहार फेरेको दाबी गर्दै प्रचण्डले राजनीतिक आलोचकहरूलाई भाषणले होइन, कामबाटै जवाफ दिने जिकिर गरे। उनका अनुसार रुकुम पूर्व केवल स्थानीय विकासको विषय होइन, अब समाजवादतर्फको यात्राको नेतृत्व गर्ने केन्द्र बन्नेछ। देशभर आफ्नो गतिविधिप्रति चासो बढेको उल्लेख गर्दै उनले भने, “म रुकुम आउनुको अर्थ केवल सहर निर्माण र सडक स्तरोन्नति मात्र होइन, यो समग्र देशलाई शान्तिपूर्ण र दृढ अठोटतर्फ लैजाने कदम हो।”भदौ २४ को आन्दोलनपछि सिर्जित परिस्थितिका कारण भदौ २६ गते संसद् विघटन गरी चुनावमा जाने निर्णय गरिएको स्मरण गराउँदै प्रचण्डले त्यो कदम देशलाई ठूलो दुर्घटनाबाट जोगाउन आवश्यक भएको दाबी गरे। “ताजा जनादेशमार्फत निकास निकाल्नु बाहेक अर्को विकल्प थिएन,” उनले स्पष्ट पारे।

माओवादी सशस्त्र संघर्षकालमा चुनबाङ बैठकबाट शान्ति प्रक्रियाको यात्रा सुरु भएको स्मरण गराउँदै प्रचण्डले अब रुकुम पूर्वले समाजवादको नयाँ यात्राको नेतृत्व गर्ने ऐतिहासिक भूमिका खेल्ने विश्वास व्यक्त गरे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *