देश

निर्वाचन गराउन दुर्गा प्रसाईँ पक्राउ, अब कस्तो बन्ला अवस्था ?

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान’का संयोजक दुर्गा प्रसाईँ पोखराबाट पक्राउ परेका छन्। निर्वाचन बहिष्कारका कार्यक्रम घोषणा गर्दै आएका प्रसाईँमाथि निर्वाचन आयोग, सरकारी निकाय र निर्वाचन प्रक्रियाविरुद्ध गम्भीर आरोप तथा गतिविधि गरेको आरोप लागेपछि कास्की प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रसाईँ सोमबार पोखरामा आयोजित एक कार्यक्रममा सहभागी हुन पुगेका बेला पक्राउ परेका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धानका लागि उपस्थित गराइदिन अनुरोध गर्दै पत्राचार गरेपछि कास्की प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ। कास्की प्रहरी प्रवक्ता तथा सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतका अनुसार प्रसाईँलाई आवश्यक प्रक्रिया पूरा गरी काठमाडौं पठाउने तयारी भइरहेको छ।

प्रसाईँले यसअघि सार्वजनिक रूपमा नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ बुझाएर नतिजा आफ्नो पक्षमा पारेको दाबी गरेका थिए। सोही अभिव्यक्तिसँगै उनले सरकारी वेबसाइट ह्याक गरेर डाटा चोरी गर्न लगानी गरिएको भन्ने आशयका अडियो सामग्री सार्वजनिक भएपछि विवाद चर्किएको थियो। निर्वाचन आयोगले यसलाई गम्भीर विषय ठहर गर्दै अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गरेको थियो।

सरकारी निकायमाथि गम्भीर आरोप लगाउँदै आएका प्रसाईँ पछिल्लो समय निर्वाचन बहिष्कार अभियानमा सक्रिय थिए। उनले सामाजिक सञ्जालमार्फत निर्वाचन आयोगको विश्वसनीयतामाथि प्रश्न उठाउँदै आएका थिए भने सरकारविरुद्ध आक्रामक अभिव्यक्ति दिँदै आएका थिए।

यसअघि पनि प्रसाईँ विभिन्न आन्दोलन र प्रदर्शनका क्रममा पटक–पटक पक्राउ पर्दै आएका छन्। राजसंस्था पुनर्स्थापनाको मागसहित भएका आन्दोलनदेखि जेनजी आन्दोलनसम्म उनको भूमिका विवादित रहँदै आएको छ। जेनजी आन्दोलनका क्रममा उनलाई आन्दोलनका ‘स्टेकहोल्डर’ का रूपमा हेर्दै नेपाली सेनाले वार्तामा समेत बोलाएको थियो।

सरकारसँग माघ २ गते मात्रै भएको १२ बुँदे सम्झौतामा प्रसाईँ नेतृत्वको अभियानसँग विभिन्न विषयमा सहमति जुटेको थियो। उक्त सम्झौताअनुसार आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता लिने, संवैधानिक तथा कानुनी सुधारका विषयमा अध्ययन गर्न उच्चस्तरीय आयोग गठन गर्ने तथा सहकारी र लघुवित्त पीडितका लागि राहतको व्यवस्था गर्ने सहमति भएको थियो।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *