काठमाडौं। नेपाली कांग्रेसको संस्थापन पक्षले निर्वाचन आयोगमा बुझाइएको कागजातमा किर्ते हस्ताक्षर प्रयोग गरिएको दाबी गर्दै त्यस्ता हस्ताक्षर तत्काल खारेज गर्न माग गरेको छ।
संस्थापन समूहका नेता तथा कार्यकर्ताहरूले आयोग परिसरमा उपस्थित भई पार्टीको आधिकारिकताको विषयमा छलफल भइरहेका बेला फर्जी दस्तखतमार्फत दाबी प्रस्तुत गरिएको आरोप लगाएका हुन्। उनीहरूको भनाइमा पार्टी विधान र कानुनी प्रक्रियालाई उल्लङ्घन गर्दै गैरकानुनी रूपमा हस्ताक्षर संकलन गरिएको छ।
नेताहरूले निर्वाचन आयोग जस्तो संवैधानिक निकायमा भ्रम सिर्जना हुने काम हुनु गम्भीर विषय भएको बताएका छन्। “विधानविपरीत गरिएको गतिविधिलाई मान्यता दिनु पार्टी मात्र होइन, लोकतान्त्रिक प्रक्रियाका लागि पनि घातक हुन्छ,” संस्थापन पक्षका एक नेताले भने।
संस्थापन पक्षले आयोगलाई निष्पक्ष र कानुनसम्मत निर्णय गर्न आग्रह गर्दै किर्ते हस्ताक्षरका आधारमा गरिएको कुनै पनि दाबी अस्वीकार गर्नुपर्नेमा जोड दिएको छ। साथै, आवश्यक परे कानुनी उपचारको बाटो रोजिने चेतावनी पनि दिएको छ।
यस विषयमा निर्वाचन आयोगले दुवै पक्षका कागजात अध्ययन गरी प्रचलित कानुनअनुसार निर्णय गरिने जनाएको छ।




