देश

‘इन्कलाब’ का शब्द स्मरण गराउँदै माओवादी सांसद रहबर अन्सारीको पार्टी परित्याग

काठमाडौं । नेकपा माओवादी केन्द्रभित्रको वैचारिक असन्तुष्टि फेरि सतहमा आएको छ। मधेश प्रदेशबाट निर्वाचित सांसद रहबर अन्सारीले पार्टी नेतृत्वप्रति गम्भीर प्रश्न उठाउँदै नेकपा माओवादी केन्द्रको सदस्यताबाट राजीनामा दिएका छन्।

अन्सारीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन्। पत्रमा उनले पार्टीले आफ्नो मूल मूल्य र राजनीतिक साहस गुमाउँदै गएको निष्कर्ष निकालेका छन्। राजीनामा पत्रमा अन्सारीले उल्लेख गरेका छन्, “साहस, इमानदारी र जोखिम—यी तीनै तत्व पार्टीले परित्याग गरिसकेको छ। यस्तो विरोधाभासपूर्ण राजनीतिमा म सहभागी हुन सक्दिनँ।” उनले समाजवादी क्रान्तिप्रतिको प्रतिबद्धता दोहोर्‍याउँदै पार्टीबाट अलग हुने निर्णय लिएको बताएका छन्।

राजीनामालाई अझ प्रतीकात्मक बनाउँदै अन्सारीले केही दिनअघि प्रचण्डले नेकपा एकता सन्देशसभामा गाएको ‘इन्कलाब’ गीतका शब्द स्मरण गराएका छन्। गीतका आदर्श र व्यवहारबीचको दूरी नै आफ्नो निर्णयको मुख्य कारण रहेको सन्देश उनले अप्रत्यक्ष रूपमा दिएका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार अन्सारीको राजीनामा केवल व्यक्तिगत निर्णय मात्र होइन, माओवादी केन्द्रभित्र बढ्दो वैचारिक द्वन्द्व र नेतृत्वप्रतिको असन्तुष्टिको संकेतसमेत हो। पार्टीले क्रान्तिकारी भाष्यलाई निरन्तरता दिइरहे पनि व्यवहारमा सत्ता–केन्द्रित राजनीतिमा सीमित हुँदै गएको आरोप लामो समयदेखि उठ्दै आएको छ। मधेश प्रदेशमा प्रभाव राख्ने नेतामध्ये मानिने अन्सारीको बहिर्गमनले माओवादी केन्द्रलाई त्यहाँ संगठनात्मक र नैतिक दुवै हिसाबले असर पार्न सक्ने आकलन गरिएको छ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *