देश

एमाले नेता बस्नेतको प्रश्न : नयाँ मन्त्रीहरूको पारदर्शिता आफ्नै घरदेखि सुरु हुन्छ ?

काठमाडौं । नवनियुक्त मन्त्रीहरूलाई एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले बधाई दिनुका साथै सार्वजनिक प्रश्न पनि उठाएका छन् । सामाजिक सञ्जालमार्फत बस्नेतले रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्यालको अतीत, पारिवारिक सम्पत्ति र राजनीतिक–धार्मिक संवेदनशीलतालाई जोड्दै छानबिन र जवाफदेहिताको माग गरेका हुन् ।

खनालप्रति प्रश्न

अर्थमन्त्रीमा नियुक्त पूर्वसचिव रामेश्वर खनालले ‘क्वाटर, गाडी र तलब नलिने’ घोषणा गरेकोमा बस्नेतले स्वागत गर्दै प्रश्न तेर्स्याएका छन्—

के यस्तो घोषणा गर्नुको अर्थ पहिले नै पर्याप्त निजी सम्पत्ति भएकै कारण हो ?

अर्थसचिव हुँदा परिवारका नाममा संकलित सम्पत्तिको छानबिनका लागि खनाल तयार छन् ?

ऊर्जा मन्त्री बनेका कुलमान घिसिङलाई बस्नेतले परिवारका सदस्यहरूमार्फत ठेक्का र सप्लाइ कारोबारमा संलग्न भएको आशंका औंल्याएका छन् । विद्युत प्राधिकरणमा काम गर्ने क्रममा ठेक्का र खरिद प्रक्रियासम्बन्धी उठेका प्रश्नमा छानबिन आफैँले सुरु गरे अझ विश्वासिलो हुने टिप्पणीसमेत गरेका छन् ।

अर्यालप्रति कटाक्ष

गृहमन्त्री बनेका अधिवक्ता ओमप्रकाश अर्याललाई बस्नेतले धार्मिक विवादसँग जोडेर प्रश्न उठाएका छन् । गाई काटेर खान पाउनेबारे सर्वोच्चमा मुद्दा दायर गरेको प्रसङ्ग कोट्याउँदै उनले अर्यालको पृष्ठभूमिले धार्मिक सहिष्णुता र सामाजिक बहुलतालाई असर पार्न सक्ने चेतावनी दिएका छन् ।

परिवार र नेपोटिजमको संकेत

बस्नेतले सन्देशमा कार्की परिवार र आन्दोलनकारी पुस्ता दुवैलाई लक्षित गर्दै भनेका छन्, “हाम्री ठुली आमा प्रधानमन्त्री बनिन्, दाइ–भाइहरूले अङ्कलहरूलाई मन्त्री बनाए ।” उनले नयाँ सरकारको वास्तविक परीक्षा आफ्नै नेतृत्व र परिवारमा पारदर्शिता देखाउन सक्ने वा नसक्ने भन्नेमा हुने बताए ।

मन्त्रीहरूको नियुक्ति पश्चात बधाईसँगै आलोचना मिसिएको बस्नेतको भनाइले, नयाँ सरकारभित्र पारदर्शिता, सम्पत्ति छानबिन र धार्मिक संवेदनशीलता जस्ता विषय फेरि बहसको केन्द्रमा पुगेको छ । बस्नेतले भनेझैँ, “सच्चा परिवर्तन आफ्नै घरभित्रैबाट सुरु हुन्छ कि हुँदैन रु” भन्ने प्रश्न अब सार्वजनिक चासोको विषय बनेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *