
काठमाडौं ।भ्रष्टाचार मुद्दामा कारागारमा रहेका राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेलविरुद्ध फेरि अर्को मुद्दा दायर भएको छ । राजश्व अनुसन्धान विभागले पौडेलविरुद्ध १ अर्ब ८६ करोडको विगो दावीसहित मुद्दा दायर गरेको हो ।
विभागले सोमबार पौडेलविरुद्ध विदेशी विनिमय अपचलन कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । यसअघि एक साता अघि ७ असोज २०८१ मा पौडेलविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धानले हुन्डी कारोबारसम्बन्धी मुद्दा दायर गरेको थियो ।
भ्रष्टाचार गरेको पैसा हुन्डीमार्फत अमेरिका पठाएको देखिएपछि उनीमाथि सिआइबीले अनुसन्धान गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानमा हुन्डी कारोबार खुलेको थियो। अख्तियारकै पत्रका आधारमा अनुसन्धान गरी एक करोड ४६ लाख ६६ हजार बिगो कायम गरी मुद्दा दायर भएको थियो ।
त्यस्तै, सुरक्षण मुद्रणकै अन्य उपकरण खरिदमा भ्रष्टाचार गरेको अभियोगमा उनी विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो भने त्यसअघि गत वैशाख पहिलो साता अख्तियारले नै उनीविरुद्ध अमेरिकाको स्थायी आवासीय अनुमतिपत्र रहेकै बखत् ढाँटेर सार्वजनिक पदधारण गरेको कसूरमा विशेष दालतमै मुद्दा दायर गरेको थियो ।
यसैगरी पौडेलले अमेरिकाको कानूनी स्थायी आवासीय अनुमति लिएको भए पनि नेपालको सरकारी पदमा बहाल भएको भन्दै ९ बैशाख २०८१ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता थियो । पौडेलले नेपालको संविधानको धारा २९१ को उपधारा १ को व्यवस्था विरुद्ध काम गरेको मुद्दा दायर गरिएको हो ।
संविधानको यस उपधारामा विदेशको स्थायी आवासीय अनुमतिपत्र लिएको नेपालको नागरिक संविधान बमोजिम निर्वाचन, मनोनयन वा नियुक्ति हुने पदमा निर्वाचित, मनोनीत वा नियुक्तिका लागि योग्य नहुने उल्लेख छ।
