काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आफूलाई सोधिएको स्पष्टीकरणको जवाफमा कोरोना र महँगो ब्याजका कारण निगम घाटामा गएको बताएका छन् ।
निगमका जहाज ग्राउण्डेड भएको, निजी कम्पनीहरू नाफामा चल्दा सरकारी स्वामित्वको नेपाल एयरलाइन्स धराशायी भएको, नियमित उडान गराउन नसकेको, सी चेक नगरी उडाएको लगायत प्रश्न गर्दै पर्यटनमन्त्री बद्री पाण्डेले अधिकारीलाई गत भदौ १२ गते सोधेको स्पष्टीकरणको अधिकारील आज जवाफ पठाएका हुन् ।
अधिकारीले यसबारे मन्त्रालयलाई पठाएको जवाफमा नेपाल एयरलाइन्स घाटामा जानुको मुख्य कारण कोरोना महामारी, महँगो ब्याजदर र चिनियाँ जहाज भएको उल्लेख गर्दै नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय सुविधा सम्पन्न वायुसेवासँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता रहेको तर खरिद प्रक्रिया प्रतिस्पर्धी बजारमा कमजोर रहेको बताएका छन् । सरकारले खरिद विनियमावली सच्याउनुपर्ने आवश्यक रहेको अधिकारीको जवाफमा उल्लेख छ । सी चेकमा लामो समय लाग्ने, अतिरिक्त नियमित प्राविधिक समस्या आउने र मर्मत सम्भारका लागि आवश्यक पार्टपुर्जा किन्ने प्रक्रियागत झन्झटले नियमित उडानमा समस्या हुने गरेको अधिकारीको जवाफमा उल्लेख छ ।
निगमको ऋण तिर्न महँगो ब्याज तिनुपर्दा पनि एयरलाइन्स घाटामा गएको उनले बताए । नागरिक उड्डयन प्राधिकरणले ग्राउन्ड ह्याण्डलिङमा गरेको सेवा शुल्क कटौतीले पनि आम्दानी घटाएको उनले जवाफ दिएका छन् । प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान अनिवार्य गर्दा आम्दानी घटेको अधिकारीको भनाइ छ । जवाफमा भनिएको छ, ‘गौतमबुद्धको उडानले गर्दा काठमाडौँ–दिल्ली–काठमाडौँ सेक्टरको उडान रद्द गर्नुपरेको र यसले आम्दानी गुमाउनुका साथै गलत सन्देश प्रवाह गरेको छ ।’
पोखरा र भैरहवा विमानस्थलको ग्राउन्ड ह्याण्डलिङमा गरिएको लगानी तथा त्यहाँ राज्यले अरु कम्पनीलाई दिएको छुटले पनि आम्दानी घटाएको जवाफमा उल्लेख गरिएको छ ।




