काठमाडौं । बिजुलीबजारस्थित चक्रवर्ती कलेजका अध्यक्ष देवेन्द्र भण्डारीमाथि उनका आफ्नै छोराले खुकुरी प्रहार गरेका छन् । सोमबार राति ११ बजे समूहसहित कलेज प्रवेश गर्न खोजेका देवेन्द्रलाई भित्र रहेका छोरा निरजसहितको समूहले आक्रमण गरेको थियो। प्रहरीले निरजसहित आक्रमणमा संलग्नलाई पक्राउ गरेको जनाएको छ।
उनको अहिले थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार छोरा निरजले आफू कलेजको अध्यक्ष भएको दाबी गर्दै बाबु देवेन्द्रलाई प्रवेश गर्न नदिएपछि केही दिनदेखि विवाद सुरु भएको थियो। भण्डारी बाबुछोराबीच कलेज व्यवस्थापनको विषयमा लामो समयदेखि विवाद रहँदै आएको छ।
यसअघि विद्यार्थी भर्ना र महँगो शुल्कका कारण चक्रवर्ती कलेज विवादमा आउने गरेको थियो । कलेज व्यवस्थापनले मनपरी शुल्क वृद्धि गरेपछि विद्यार्थीसमेत आन्दोलित हुँदै आएका छन् ।




