खेलकुद

वर्षाकै कारण फाइनलमा पुगेको युएईलाई वर्षा नै बाधक बन्ने सम्भावना

काठमाडौं । एसिसी प्रिमियर कपको फाइनल खेल वर्षाका कारण प्रभावित हुने देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म पानी पर्ने बुलेटिन सार्वजनिक गरेको छ ।

जसअनुसार मंगलबारसम्मै ठूलो वर्षा हुने महाशाखाले जनाएको छ । फाइनलमा नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई) बीच उपाधि भिडन्त तय भएको छ ।सेमिफाइनलमा ओमानसँग डर्क विथ लुइसका कारण केवल दुई रनले विजयी भएर फाइनल प्रवेश गरेको युएईलाई वर्षा नै बाधक हुने देखिएको छ । नेपालले भने ४२ ओभरको खेलमा कुवेतलाई २८३ रनको चुनौती दिएको थियो ।

तर कुवेतले आठ ओभर पनि पूरा खेल्न नपाई वर्षाका कारण खेल रद्द हुन पुग्यो । कुवेतले ६ ओभरमै आफ्नो ६ विकेट गुमाएकाले वर्षा नभए पनि नेपाल सानदार जितका साथ फाइनल प्रवेश गर्ने सम्भावना धेरै थियो । तर सोमबारलाई तय भएको फाइनलमा दिनभर वर्षात् भए खेल रद्द हुने अधिक सम्भावना छ । त्यसो भएमा ओडिआई मान्यताका कारण नेपाल सिधै विजेता घोषित हुने छ ।

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको र देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै कोशी र वाग्गमती प्रदेशका केही स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाले आइतबार जस्तै सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ। देशका केही स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र मधेश प्रदेशका एक दुई स्थानमा हावाहुरीको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ ।

सोमबार राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको उसले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *