कोशी प्रदेश

सुनसरी १ मा कांग्रेस जनप्रतिनिधि र पार्टी नेतृत्वबीच अन्तरक्रिया, फागुन १ देखि गाउँगाउँ जाने

धरान। सुनसरी क्षेत्र नं. १ अन्तर्गतका नेपाली कांग्रेसका जनप्रतिनिधि र पार्टी नेतृत्ववीच अन्तरक्रिया सम्पन्न भएको छ । संविधानका पिता एवम् पूर्व प्रधानमन्त्री तथा सभापति स्व. सुशील कोइरालाको छैटौं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस क्षेत्र नं. १ ले अन्तरक्रिया गरेको हो । कार्यक्रममा स्व. कोइरालाको तस्वीरमा माल्यार्पण गरी उहाँले गर्नु भएको योगदानको चर्चा समेत गरिएको थियो ।


कार्यक्रममा प्रमुख अतिथि १ नम्बर प्रदेश महामन्त्री उमेश थापाले स्थानीय तहको निर्वाचनमा अन्य दलसँग तालमेल गर्न नहुने जिकिर गरे । उनले विगतमा जनप्रतिनिधिहरुले पार्टीसँग प्रभावकारी समन्वय नगरेको र पार्टीले पनि जनप्रतिनिधिहरुसँग समन्वय नगरेको भन्दै अन्तरक्रिया कार्यक्रमले एक अर्कामा समन्वय र सहकार्य गर्ने वातावरण बनेको बताए ।


क्षेत्रीय सभापति सुजेन्द्र तामाङले पार्टी नेतृत्व र जनप्रतिनिधिबीच सहकार्य र समन्वयलाई प्रभावकारी बनाई जनचाहना बमोजिम कार्य गर्न अब निरन्तर छलफल, बैठक र संवाद गरिने बताए । उनले संगठन विस्तार, सुदृढिकरण र सशक्तिकरणमा जोड दिइने भन्दै फागुन १ गते देखि पार्टी नेतृत्व गाउँगाउँ जाने बताए । उनले वडाको टिकट वितरणमा परिपक्व एवम् उचित निर्णय गरिने समेत बताए ।


जिल्ला सचिव माधव घिसिङले महाधिवेशनको प्रतिष्पर्धालाई भुलेर अब सबै जना स्थानीय तहको निर्वाचनमा होमिनु पर्ने बताए ।
महाधिवेशन प्रतिनिधि एवम् धरान नगर प्रमुख तिलक राईले आफूहरुले राम्रो काम गर्ने प्रयास निरन्तर गर्दै आएको तर नराम्रो काम एउटा पनि नगरेको बताउंदै पार्टी र जनप्रतिनिधवीच सहकार्य हुनु पर्ने बताए ।


बराहनगर सचिव एवम् बराह २ का वडा अध्यक्ष हरिकृष्ण भट्टराईले शिक्षा, स्वास्थ्य र सिंचाईको क्षेत्रमा वडामा राम्रो काम गरिएको बताए ।
रामधुनी नगर सचिव दोस्तीराम चौधरीले विगतमा पनि टिकट वितरणमा कमी कम्जोरी भएको भन्दै यस पटक टिकट वितरण गर्दा राजनीतिक क्षेत्रमामात्र नभई समाजिक क्षेत्रमा समेत ख्याती कमाएकालाई प्राथमिकता दिनु पर्ने बताए ।


बराह १ का वडा अध्यक्ष सुरेश श्रेष्ठले पार्टीले गर्ने कार्यक्रमहरुमा जनप्रतिनिधिहरु लाई खासै जानकारी गराउने नगरेको भन्दै पार्टीको कार्यक्रममा पनि समेट्न आग्रह गरे । उनले वराह नगरपालिकामा आफुहरु अल्पमतमा रहेको भन्दै नगर प्रमुखबाट पूर्ण असहयोग रहने गरेको बताए ।


क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १ नंं. प्रदेश सदस्य अन्जना राई, जिल्ला सहसचिव गणेश सुब्बा, जिल्ला सदस्यहरु विनोद घिमिरे, प्रदिप बस्नेत, अनुपमा सुनुवार, विजय चौधरी, महाधिवेशन प्रतिनिधिहरु चन्द्रशेखर लामा, कृष्णकला मादेन, विकास आचार्यं, ललिता अधिकारी, ममता तामाङ, प्रदेश सभा क्षेत्र सभापतिद्वय अनिल श्रेष्ठ, मुरारी भट्टराई, धरान नगर सभापति श्याम पोखरेल, क्षेत्रीय सचिव महेन्द्र प्रधान, कोषाध्यक्ष सुवर्ण श्रेष्ठ, सहसचिवद्वय भोजकुमार न्यौपाने, सुमित राई, प्रदेशसभा क्षेत्र सचिव युवराज शंकर, कोषाध्यक्ष रविना सुब्बा गुरुङ, धराननगर उपसभापति एवम् ५ नं. वडा अध्यक्ष सन्तोष लिम्वु, धराननगर सचिव हिमाल श्रेष्ठ, वडा सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *