काठमाडौं । सत्तारुढ दल नेकपाभित्रको विवाद समाधानको लागि गठन भएको कार्यदल अनुमोदन गराउन नेकपाको सचिवालय बैठक बोलाएको छ । पार्टीका तीन शीर्ष नेताहरले पार्टीको विधि र पद्धति मिचेर कार्यदल बनाएको भन्दै आपत्ति जनाएपछि सोमबार विहानका लागि सचिवालय बैठक बोलाइएको हो ।
‘भोली बिहान ९ः३० बजे सचिवालय बैठक बस्ने भनी खबर आएको छ,’ एक सचिवालय सदस्यले भने । उनका अनुसार अनुसार शुक्रबार गठन भएको कार्यदललाई सचिवालयबाट औपचारिकरुपमा अनुमोदन गर्दै कार्यादेश दिनका लागि सो बैठक डाकिएको हो। नेकपाभित्र विवाद चुलिएपछि त्यसको समाधान गर्नको लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा शुक्रबार ६ सदस्यीय कार्यदल गठन गरिएको थियो। तर, पार्टी कमिटीमा छलफल नगरी कार्यादल बनेको भन्दै वरिष्ठ नेता झलनाथ खनाल, माधवकृुमार नेपाललगायतले असन्तुष्टि जनाएका थिए। शनिबार अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा भएको छलफलमा नेताले असन्तुष्टि जनाएपछि भोलिका लागि सचिवालयको बैठक डाकिएको हो। यसअघि साउनको ३ गते नेकपाको सचिवालयको बैठक बसेको थियो। कार्यदलले शनिवारदेखि काम शुरु गरेको छ । महासचिव विष्णु पौडेलको संयोजकत्वमा बनेको सो समितिमा पूर्व माओवादीको तर्फबाट जनार्दन शर्मा र पम्फा भूषाल रहेका छन् भने शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल पूर्व एमालेका तर्फबाट रहेका छन् । उनीहरुले शनिवारबाट काम थालेका हुन् ।
आन्तरिक रुपमा विवाद उत्पन्न भएपछि असार १०मा शुरु भएको नेकपाको स्थायी कमिटी बैठक समेत असार १८ पछि बस्न सकेको छैन । स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग भएपछि असार १८ पछि बैठक स्थगित हुँदा संवाद हिनताको समस्या बढ्दै गएको थियो । दुई अध्यक्षबीच धेरै पटक छलफल भएपनि त्यसले निकास दिन सकेका थिएनन् । कार्यदल बनेपछि त्यसले निकास दिने अपेक्षा गरिएको छ ।




