काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकले कुल १९ अर्ब १४ करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।
बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा ४५.४६ प्रतिशतले बढेको हो । गत वर्ष पहिलो त्रैमासमा बैंकहरूको कुल नाफा १३ अर्ब १४ करोड रुपैयाँ थियो ।
पहिलो त्रैमासमा सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक रहेको छ । बैंकले २ अर्ब ५५ करोड रुपैयाँ कमाउँदा ग्लोबल आइएमई बैंकले २ अर्ब ३१ करोड र राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ६५ करोड रुपैयाँ नाफा कमाएका छन् ।
त्यस्तै, एभरेस्ट बैंकले १ अर्ब २५ करोड, प्राइम कमर्सियल र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले समान १ अर्ब १८ करोड तथा एनएमबी बैंकले १ अर्ब १६ करोड रुपैयाँ नाफा कमाएका छन् ।
कृषि विकास बैंकले १ अर्ब ९ करोड, कुमारी बैंकले १ अर्ब ७ करोड र सानिमा बैंकले १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
नाफा वृद्धिका हिसाबले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको सुधार उल्लेख्य देखिएको छ । बैंकको नाफा गत वर्षको पहिलो त्रैमासको ४५ करोड ५ लाखबाट बढेर यस वर्ष १ अर्ब १८ करोड रुपैयाँ पुगेको छ ।
त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको नाफा ५८ करोड ८७ लाखबाट बढेर १ अर्ब ६५ करोड र कृषि विकास बैंकको ५७ करोड ३८ लाखबाट बढेर १ अर्ब ९ करोड रुपैयाँ पुगेको छ ।
यसैगरी, गत वर्ष पहिलो त्रैमासमा २२ करोड ४ लाख रुपैयाँ घाटामा रहेको सिटिजन्स बैंक यस वर्ष १० करोड २७ लाख रुपैयाँ नाफामा फर्किएको छ ।
यद्यपि, सबै बैंकको नाफा बढेको छैन । प्राइम कमर्सियल, हिमालयन, स्ट्यान्डर्ड चार्टर्ड र एनएमबी बैंकको नाफा भने गत वर्षको तुलनामा घटेको छ ।
अन्य बैंकमध्ये सिद्धार्थले ८५ करोड १५ लाख, नेपाल बैंकले ८३ करोड २१ लाख, हिमालयनले ६८ करोड ४८ लाख, स्ट्यान्डर्ड चार्टर्डले ६७ करोड १४ लाख र लक्ष्मी सनराइजले ६५ करोड ३३ लाख रुपैयाँ नाफा कमाएका छन् ।
त्यस्तै, प्रभु बैंकले ६४ करोड ७४ लाख, नेपाल एसबीआईले ५५ करोड ८५ लाख, माछापुच्छ्रेले ५५ करोड ११ लाख र एनआईसी एसियाले १२ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।




