काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ बाट प्रदान गरिने ‘बेस्ट बैंक अवार्ड २०२६’ प्राप्त गरेको छ । योसँगै बैंकले लगातार तेस्रो वर्ष उक्त प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मान हासिल गरेको हो ।
बैंकले यसअघि सन् २०२४ र २०२५ मा पनि ‘बेस्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरेको थियो । लगातार तीन वर्ष यो सम्मान प्राप्त गर्ने ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको उक्त विधामा सम्मानित हुने पहिलो नेपाली बैंक बनेको छ ।
थाइल्याण्डको राजधानी बैंककमा आयोजित विशेष समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका नायब प्रमुख कार्यकारी अधिकृतद्वय सुमन पोखरेल र दिपचन्द्र रेग्मीलाई अवार्ड हस्तान्तरण गरेका थिए ।
ग्लोबल फाइनान्सले बैंकको वित्तीय स्रोत परिचालन क्षमता, संस्थागत विश्वसनीयता, भौगोलिक तथा डिजिटल पहुँच विस्तार, रणनीतिक व्यावसायिक साझेदारी, ग्राहकमैत्री नवप्रवर्तन, अत्याधुनिक प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग, दिगो कर्जा प्रवाह र जोखिम व्यवस्थापनलाई मूल्याङ्कनको मुख्य आधार बनाएको जनाएको छ ।
अवार्ड वितरण समारोहमा एसिया–प्रशान्त क्षेत्रसहित विश्वभरका प्रमुख वित्तीय संस्थाहरूलाई विभिन्न विधामा सम्मानित गरिएको थियो । सम्मानित संस्थाहरूमा हङकङको बैंक अफ चाइना, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको आईसीबीसी, मलेसियाको यूओबी मलेसिया, बङ्गलादेशको सिटी बैंक र जापानको एमयूएफजी बैंकलगायत रहेका छन् ।
बैंकले यस सम्मानलाई आधुनिक बैंकिङ सेवा, प्रविधिको प्रयोग र ग्राहक सेवामा थप उत्कृष्टता हासिल गर्न प्रेरणा मिलेको रूपमा लिएको जनाएको छ । साथै, बैंकको प्रगतिमा सहयोग पुर्याउने नेपाल सरकार, नेपाल राष्ट्र बैंक, अन्य नियामक निकाय, सेयरधनी, कर्मचारी तथा ग्राहकप्रति आभार व्यक्त गरेको छ ।
ग्लोबल आइएमई बैंकले यसअघि पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेको छ । बैंकले सन् २०१४ मा ‘बैंक अफ द इयर’, सन् २०१६ मा ‘बेस्ट इन्टरनेट बैंक’ तथा सन् २०२२, २०२४ र २०२५ मा युरोमनी अवार्ड फर एक्सिलेन्स प्राप्त गरेको जनाएको छ । त्यस्तै, सन् २०२४ मा ‘बेस्ट बैंक ईएसजी नेपाल’ र ‘बेस्ट इम्प्लोयर’ लगायतका सम्मानसमेत प्राप्त गरेको छ ।
मुलुकका सबै ७७ जिल्लामा सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंकका रूपमा रहेको ग्लोबल आइएमई बैंकले हाल ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र विदेशमा रहेका तीन प्रतिनिधि कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकका सेवा केन्द्रको सङ्ख्या एक हजारभन्दा बढी रहेको छ ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र भारतलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याउँदै आएको छ । यसबाट देशको अर्थतन्त्रमा योगदान पुगिरहेको बैंकले जनाएको छ ।




