धनकुटा। पछिल्लो समय गाउँदेखि सहरसम्म चिसो पेय पदार्थको प्रयोग तीव्र रूपमा बढिरहेका बेला धनकुटा नगरपालिका–१ हिलेमा भने मोही पिउने क्रम बढेको छ। धनकुटा नगरपालिका–१ हिलेमा रहेको सिंहदेवी डेरी उद्योगबाट उत्पादित मोहीलाई विस्तारै ‘ब्रान्डिङ’ गरी बिक्री–वितरण गरिँदैछ।
हरेक बिहान ठूलो भाँडोमा घोलिएको ताजा मोही बोतलमा भरिँदै ‘लेबल’ टाँस्ने काम भइरहेको हुन्छ। त्यहाँ रहेका कामदारसँगै व्यस्त रहने व्यक्ति हुन् डेरी व्यवसायी राजु घिमिरे। उनी मोहीलाई आधुनिक ब्रान्ड बनाउने योजनाका साथ काम गरिरहेको बताउँछन्।
विवाह, भोज, सभा सम्मेलन, होटल–रेस्टुरेन्टदेखि घरायसी पाहुनासम्म बोतलका चिसा पेयपदार्थ सामान्य बनिरहँदा नेपाली समाजमा पुस्तौंदेखि प्रयोग हुँदै आएको मोही, सर्वत, जाँडो मौसमका घोल वा अन्य घरेलु पेय पदार्थ विस्तारै बजारबाट हराउँदै गएका छन्। यही परिवर्तनको भीडमा धनकुटा नगरपालिका–२ घर भएका घिमिरेको डेरीबाट उत्पादित मोहीको प्रयोग भने बढ्दै गएको छ।
विसं २०७५ देखि डेरी व्यवसाय सुरु गरेका घिमिरेले सुरुवाती दिनमा दूधजन्य उत्पादन नौनी, पनिर र छुर्पी उत्पादन गर्दै आएका थिए। स्थानीय बजारमा ती उत्पादनको माग पनि राम्रै थियो तर समयसँगै बजार बदलियो। बजारमा बाहिरबाट आउने उत्पादन बढेपछि प्रतिस्पर्धा चर्किंदै जाँदा स्थानीय उत्पादन बिक्री गर्न कठिन हुँदै गएको छ।
“एक समय यस्तो आयो, डेरी व्यवसाय नै छोड्नु पर्ने अवस्था जस्तो भयो,” घिमिरे सम्झिन्छन्, “पनिर र छुर्पी बनाएर मात्रै टिक्न गाह्रो हुँदै गइरहेको थियो।” यही कठिन परिस्थितिले उनलाई नयाँ विकल्प खोज्न बाध्य बनायो। धेरै सोच विचारपछि मोही उत्पादनलाई नयाँ स्वरूपमा प्रस्तुत गर्ने निर्णय गरेको उनले बताए। “हामीले सानैदेखि मोही खाएर हुर्केका हौं,” उनले भने, “तर बजारमा यसको कुनै ब्रान्ड थिएन। सबैले घरमै बनाउने तर व्यावसायिक रूपमा कसैले अघि बढाएका थिएनन्।”
उनले २०८० सालदेखि ‘दुर्गा मोही’ नाम दिएर उत्पादन सुरु गरेका हुन्। उनले मोहीलाई एक लिटरको आकर्षक बोतलमा प्याकिङ गर्न थालेका छन् र सोहीअनुसारको लेबल तयार गरेका छन्। “सुरुमा त डर लागेको थियो,” उनी हाँस्दै भन्छन्, “बिक्छ कि बिक्दैन भन्ने चिन्ता थियो। तर अहिले माग धान्नै गाह्रो भइरहेको छ।”
अहिले सिंहदेवी डेरी उद्योगमा दैनिक ३०० लिटरभन्दा बढी मोही उत्पादन भइरहेको छ। विशेष कार्यक्रम, मेला वा समारोहमा मागअनुसार उत्पादन अझ बढाउनु पर्ने अवस्था रहेको घिमिरेले बताए।
घिमिरेले उत्पादन गरेको मोही अहिले हिले, पाख्रिबास, सिधुवालगायत क्षेत्रमा माग हुने गरेको छ। विवाह, भोज, स्थानीय सभा–सम्मेलन तथा सामाजिक कार्यक्रममा पनि ‘दुर्गा मोही’ प्रयोग हुन थालेको उनले बताए।
पछिल्लो समय स्थानीय उपभोक्ता पनि मोहीप्रति आकर्षित हुन थालेका छन्। स्थानीय विमल दाहालले भने, “पहिला कार्यक्रममा कोल्ड ड्रिङ्क्स नै खाने चलन थियो। अहिले मोही खान थालेपछि फरक अनुभव भइरहेको छ। यो स्वादिलो पनि छ, स्वास्थ्यका लागि राम्रो पनि।”
उनका अनुसार बजारमा पाइने धेरै पेय पदार्थमा चिनी र विभिन्न रसायनको मात्रा बढी हुन्छ भने मोही प्राकृतिक, पौष्टिक र शरीरका लागि लाभदायक मानिन्छ। विशेषगरी गर्मी मौसममा मोहीले शरीरलाई चिसो राख्ने, पाचन प्रक्रिया सुधार गर्ने र ऊर्जा दिने विश्वास गरिन्छ।
ग्रामीण समाजमा खेतबारीमा काम गर्ने मानिसहरूको दैनिकीसँग मोहीको सम्बन्ध पुरानै भए पनि बदलिँदो समयसँगै त्यो परम्परा हराउँदै गइरहेको अवस्थामा ‘दुर्गा मोही’ ले त्यसलाई फेरि बजारमा फर्काउने प्रयास गरेको छ।
डेरी उद्योगमा उत्पादित मोही खाद्य गुणस्तर तथा नापतौल विभागको मापदण्डअनुसार तयार गरिन्छ। प्याक गरिएको मोही करिब एक हप्तासम्म प्रयोग गर्न मिल्ने अनुमति रहेको छ। घिमिरेका अनुसार मोही उत्पादनमा गुणस्तर सबैभन्दा महत्वपूर्ण पक्ष हो। “सफाइ, गुणस्तर र स्वादमा कुनै सम्झौता गर्दैनौं,” उनले भने। उद्योगमा अहिले मोहीसँगै नौनी, पनिर र छुर्पी उत्पादन पनि भइरहेको छ तर पछिल्लो समय मोही नै मुख्य पहिचान बन्न थालेको छ।
धनकुटामा ‘दुर्गा मोही’ केवल पेय पदार्थका रूपमा सीमित छैन। यसले स्थानीय उत्पादनप्रतिको विश्वास बढाउने काम पनि गरिरहेको छ। नेपालमा धेरै स्थानीय उत्पादन उचित ब्रान्डिङ र बजार व्यवस्थापनको अभावमा हराउँदै गएका छन्। गाउँघरमा उत्पादन हुने परम्परागत खाद्य सामग्री आधुनिक बजारसँग जोडिन नसक्दा व्यवसाय टिक्न सकेका छैनन्। तर घिमिरेको प्रयासले परम्परागत उत्पादनलाई समयअनुसार प्रस्तुत गर्न सकियो भने त्यसले बजार पाउन सक्छ भन्ने उदाहरण दिएको छ।
अहिले धनकुटालगायत बजारमा ‘दुर्गा मोही’ विस्तारै ‘ब्रान्ड’ बन्दै गएको मोरिङ्गा होटलका सञ्चालक सागर दाहालले बताए। उनले भने, “खासगरी गर्मी याममा होटलमा आउने ग्राहकको पहिलो रोजाइ नै मोही बन्ने गरेको छ।”




